काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२ आज हुँदैछ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा दिउँसो ३ बजे सुरु हुने अवार्डको २३औँ संस्करणमा नौ विधामा पुरस्कार प्रदान गरिनेछ।
यस वर्ष वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, लाइफटाइम अचिभमेन्ट, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ।
पिपल्स च्वाइससहित पाँच विधाका मनोनयन यसअघि नै सार्वजनिक भइसकेका छन्। पिपल्स च्वाइस अवार्डका लागि फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ मनोनयनमा परेका छन्। यस विधाको मतदान अहिले बन्द भइसकेको छ।
वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजालीमगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य छन्।
वर्ष महिला खेलाडीका लागि करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ तथा फुटबलकी साबित्रा भण्डारी मनोनयनमा परेका छन्।
युवा खेलाडीको विधामा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा, चेसका पुरुषोत्तम सिलवाल तथा क्रिकेटका रौनक श्रीवास्तव प्रतिस्पर्धामा छन्।
वर्ष प्रशिक्षकको मनोनयनमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री छन्।
पिपल्स च्वाइस, वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।
अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
अवार्ड समारोहमा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्