काठमाडौं । युरोपमा यस वर्षको अत्यधिक गर्मी र कीर्तिमानी खडेरीले ऊर्जा उत्पादन, जल यातायात, कृषि र सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पारेको छ। डढेलोसमेत युरोपको इतिहासकै ठूलो बन्न सक्ने अनुमान गरिएको छ।
राइन र ड्यान्युब नदीमा पानीको सतह घट्दा जल यातायात प्रभावित भएको छ भने आधा दर्जनभन्दा बढी आणविक ऊर्जा केन्द्रमा उत्पादन घटाउन वा बन्द गर्नुपरेको छ। अत्यधिक गर्मी र खडेरीका कारण कृषि उत्पादनमा समेत गिरावट आएको छ।
जलवायु परिवर्तनका कारण सन् २०३० सम्म स्पेन, फ्रान्स र इटालीको आर्थिक वृद्धिमा ५ देखि ७ प्रतिशतसम्म क्षति पुग्न सक्ने आकलन गरिएको छ। दक्षिण युरोपमा पर्यटन प्रभावित हुनुका साथै खाद्यान्नको मूल्य बढ्ने र महँगीमा थप दबाब पर्ने जोखिम देखिएको छ।
चरम मौसमका कारण सरकारको राजस्व घट्ने, व्यवसायको नाफा तथा लगानी प्रभावित हुने र जलवायु जोखिमबाट ऊर्जा तथा यातायात पूर्वाधार जोगाउन थप लगानी आवश्यक पर्ने अर्थशास्त्रीहरूले बताएका छन्। रोयटर्सका अनुसार, अत्यधिक गर्मी, खडेरी र डढेलो एकै क्षेत्रमा दोहोरिँदा आर्थिक क्षति झनै बढ्ने जोखिम छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्