ताप्लेजुङको समुद्री सतहदेखि करिब ४ हजार ३५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी पूर्वी नेपालको आकर्षक प्राकृतिक तथा साहसिक पर्यटकीय गन्तव्य बन्दै गएको छ। हिमाली फूल, हरियाली डाँडाकाँडा, याक–चौँरीका गोठ, हिमशृङ्खला र पोखरीको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गरिरहेको छ। पछिल्लो समय यहाँ दैनिक सरदर दुई दर्जनभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन्।
पर्यटकको चहलपहल बढेसँगै पदमार्गका परम्परागत गोठहरू गोठस्टेमा रूपान्तरण हुन थालेका छन् भने पोखरीनजिकै पहिलोपटक होमस्टे पनि सञ्चालनमा आएको छ। स्थानीय गोठस्टे तथा होमस्टेले स्थानीय संस्कृति, हिमाली जीवनशैली र आतिथ्यको अनुभवसँगै छुर्पी, तातोपानी, चिया तथा स्थानीय परिकार उपलब्ध गराउँदै आएका छन्।
तिम्बुङ पोखरी प्राकृतिकसँगै धार्मिक र जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। यहाँ केन्जो, पाँचऔँलेलगायत जडीबुटी तथा रेडपाण्डाजस्ता दुर्लभ वन्यजन्तु पाइन्छन्। स्थानीय समुदायले पोखरीलाई आस्थाको केन्द्रका रूपमा समेत मान्दै आएका छन्।
पर्यटक बढे पनि पदमार्ग, विश्रामस्थल, सडक तथा अन्य पूर्वाधारको अभाव चुनौतीका रूपमा रहेको स्थानीयको भनाइ छ। आवश्यक पूर्वाधार, प्रचारप्रसार र पदमार्ग व्यवस्थापन गर्न सके भारतको सिक्किमसँग जोडिएको तिम्बुङ पोखरीलाई आधार बनाएर पूर्वी नेपालमा पर्यटकीय परिपथ विकास गर्न सकिने व्यवसायीको विश्वास छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्