भोजपुर । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने अरुण नदी र पिखुवा खोलाको सङ्गमस्थल फत्तेपुर दोभान भोजपुरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
अरुण नदी र पिखुवा खोला एकआपसमा मिसिएर बग्ने यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हरियाली वनजंगल, नदीको सङ्गम र आसपासको भौगोलिक दृश्यले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पछिल्लो समय फत्तेपुर दोभानमा आन्तरिक पर्यटकको आवागमनसमेत बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
पर्यटन पूर्वाधारमा जोड
पर्यटकको सुविधाका लागि स्थानीय तहले फत्तेपुर दोभानमा आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । यहाँ आवास, खानेपानी र शौचालयलगायतका सुविधा उपलब्ध गराइएको छ भने सडक पहुँच सुधार गर्ने कामसमेत अघि बढाइएको छ ।
पौवादुङमा गाउँपालिकाका अध्यक्ष जीवन राईले प्राकृतिक सौन्दर्य संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विस्तार गर्ने काम भइरहेको बताए । फत्तेपुर दोभानलाई थप व्यवस्थित गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना रहेको उनको भनाइ छ ।
पर्यटनसँग जोडिँदै स्थानीय समुदाय
फत्तेपुर दोभानको पर्यटन विकासमा स्थानीय समुदायको सहभागिता पनि बढ्दै गएको छ । स्थानीयवासी होमस्टे तथा अन्य पर्यटन सेवामा जोडिन थालेका छन् । यसबाट पर्यटकले स्थानीय संस्कृति, खानपान र जीवनशैलीको अनुभव लिन पाउनुका साथै समुदायको आयआर्जनमा समेत सहयोग पुगेको छ ।
हतुवागढी गाउँपालिका–६ का वडा सदस्य रामबहादुर लिम्बूले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास भइरहेको बताए । उनका अनुसार पर्यटकको आवागमन बढेसँगै स्थानीय उत्पादन र सेवाको बजारसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।
राफ्टिङदेखि बर्डवाचिङसम्मको सम्भावना
अरुण नदी र पिखुवा खोलाको सङ्गमस्थल भएकाले फत्तेपुर दोभानमा साहसिक पर्यटनको समेत सम्भावना रहेको स्थानीय तहको भनाइ छ । आगामी दिनमा राफ्टिङ, ट्रेकिङ र बर्डवाचिङ लगायतका गतिविधि विस्तार गर्ने योजना बनाइएको छ ।
प्राकृतिक तथा जैविक विविधताले सम्पन्न क्षेत्र भएकाले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्धन गर्नुपर्नेमा स्थानीयको जोड छ । प्लास्टिकजन्य फोहोर नियन्त्रण, वन संरक्षण र जैविक विविधताको संरक्षणसँगै पर्यटकीय गतिविधि विस्तार गर्न सके फत्तेपुर दोभानले स्थानीय अर्थतन्त्रमा थप योगदान पुर्याउने देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्