बुटवल । जापान रोजगारीमा पठाइदिने भन्दै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकीलाई सोमबार बुटवलबाट पक्राउ गरिएको हो। वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुढाथोकीले गेटस्वि इन्टरनेशनल प्रालि नामक कन्सल्टेन्सीमार्फत जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको प्रहरीको दाबी छ। उनले ११५ जनाबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएर ठगी गरेको आरोप लागेको छ।
वैदेशिक रोजगार ठगीमा अनुसन्धान
पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पीडितबाट लिएको रकम, जापान रोजगारीको नाममा गरिएको प्रतिबद्धता तथा कन्सल्टेन्सीमार्फत भएको कारोबारलगायत विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्