काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा दुई नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो–२०२६ को अवसर पारेर नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गरेको हो।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले दुवै मोडल सार्वजनिक गर्दै नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए।
उनका अनुसार नयाँ पञ्च ईभी र टियागो ईभी फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको छ।
नयाँ पञ्च ईभीमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालमा गरिएको रोड टेस्टका आधारमा यी ब्याट्रीले एकपटकको चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
नयाँ पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, ३६० डिग्री क्यामेरा, ३६६ लिटरको बुट स्पेस र ६ वटा एयरब्यागलगायतका सुविधा छन्। यसमा हर्मनको २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली, डिजिटल ककपिट, विद्युतीय सनरुफ, हावा प्रवाह हुने सिट, नेभिगेसन तथा ६० भन्दा बढी सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, पञ्च ईभीमा १.५ सीडीसी फास्ट चार्जिङ प्रविधि उपलब्ध छ। गाडी बेङ्गाल रोज, फियरलेस यल्लो, एम्पावर्ड अक्साइड, प्योर ग्रे र प्रिस्टिन ह्वाइट गरी पाँच रङमा उपलब्ध हुनेछ। यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नयाँ टियागो ईभीमा पनि प्रविधि, सुरक्षा र आरामका सुविधामा सुधार गरिएको छ। दैनिक आवतजावतलाई लक्षित गरिएको यस विद्युतीय ह्याचब्याकमा ३६० डिग्री क्यामेरा, २६.०३ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्याग उपलब्ध छन्।
यसमा ट्र्याक्सन कन्ट्रोलसहितको विद्युतीय स्थिरता नियन्त्रण प्रणाली, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, आर्मरेस्ट र हिल होल्ड कन्ट्रोललगायतका सुविधा दिइएको छ।
नयाँ टियागो ईभीको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर, जुन पहिले पूरा हुन्छ, त्यस अवधिसम्मको वारेन्टी दिइएको छ। गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरमध्ये जुन पहिले पूरा हुन्छ, त्यस अवधिसम्मको वारेन्टीसमेत उपलब्ध छ।
टियागो ईभी देहरादुन ड्यु, सोबो सर्ज, डेटोना ग्रे र पाङ्गोङ पल्स गरी चार रङमा उपलब्ध हुनेछ। यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।
सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले विद्युतीय सवारी बिक्रीसँगै सेवा तथा चार्जिङ पूर्वाधार विस्तारमा पनि कम्पनीले लगानी गरिरहेको बताए। उनका अनुसार हाल कम्पनीले २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ३९ वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालन गरिरहेको छ।
कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले बिक्री, बिक्रीपछिको सेवा र चार्जिङ पूर्वाधारलाई एकीकृत रूपमा विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्