काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शंकास्पद मृत्युबारे तत्काल निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहले पूर्वजनप्रतिनिधिको रहस्यमय मृत्युले स्थानीयवासीमा त्रास र अन्योल सिर्जना भएको बताए। उनले सिंहको मृत्यु हत्या हो वा अन्य कारणले भएको हो भन्ने विषयको सत्यतथ्य तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
“यो हत्या हो कि अन्य केही, सत्यतथ्य बाहिर आउनुपर्छ,” उनले भने।
शाहले घटनाको अनुसन्धानमा कुनै किसिमको राजनीतिक दबाब वा ढिलासुस्ती स्वीकार्य नहुने बताए। उनले सम्बन्धित निकायलाई घटनाको तत्काल गम्भीर, निष्पक्ष र प्रभावकारी अनुसन्धान अघि बढाउन आग्रह गरे।
“घटनाको तत्काल गम्भीर र निष्पक्ष छानबिन गरियोस्। अनुसन्धानमा कुनै पनि राजनीतिक दबाब वा ढिलासुस्ती सह्य हुने छैन,” शाहले भने।
पूर्वमेयर सिंहको मृत्युले कपिलवस्तुका स्थानीयवासीमा चिन्ता र असुरक्षाको भावना बढेको उल्लेख गर्दै उनले घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्नुपर्ने बताए। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सके मात्रै स्थानीयवासीमा देखिएको त्रास र अन्योल हट्ने उनको भनाइ थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्