काठमाडौं । आगामी २०औँ एसियाली खेलकुदमा नेपाली एथ्लेटिक्स टोली पदक जित्ने लक्ष्यसहित मैदानमा उत्रने भएको छ। करिब तीन वर्षदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तयारी गरिरहेको नेपाली टोलीले जापानको आइची–नागोयामा हुने प्रतियोगितामा चुनौती प्रस्तुत गर्नेछ।
आगामी सेप्टेम्बर १९ देखि सुरु हुने एसियाडका लागि नेपालले एथ्लेटिक्सतर्फ ६ खेलाडीको नाम सिफारिस गरेको छ।
म्याराथनमा खड्गबहादुर बोहरा, १० हजार मिटरमा राजन रोकाया, १५ सय र ५ हजार मिटरमा मुकेश पाल, ८ सय मिटरमा सोमबहादुर कुमाल, ५ हजार र १० हजार मिटरमा सन्तोषी श्रेष्ठ तथा १५ सय र ५ हजार मिटरमा पूर्णलक्ष्मी न्यौपानेले प्रतिस्पर्धा गर्नेछन्।
कीर्तिमान नजिक खेलाडी
म्याराथन धावक खड्गबहादुर बोहरा राष्ट्रिय कीर्तिमानको नजिक छन्। गत नोभेम्बरमा नेपालगञ्ज म्याराथनमा २ घण्टा १५ मिनेट ६ सेकेन्डको समय निकाल्दै रजत जितेका उनले बैकुण्ठ मानन्धरको राष्ट्रिय कीर्तिमानभन्दा तीन सेकेन्ड मात्र बढी समय लिएका थिए।
बंगबन्धु शेख मुजिब म्याराथनमा कास्य पदक जितिसकेका बोहरा एसियाडमा पदकसँगै राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यमा छन्।
१० हजार मिटरका राजन रोकायाले २९ मिनेट ५३ सेकेन्डको समय निकालिसकेका छन्। उनी एसियाली खेलकुदमा दीपक अधिकारीले बनाएको २९ मिनेट ३५ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्यमा छन्।
८ सय मिटरका सोमबहादुर कुमाल पनि पदकको आशामा छन्। सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा कास्य जितेका कुमालले १ मिनेट ५०.२५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनी आफ्नो समय दुई सेकेन्ड सुधार गर्दै १ मिनेट ४८ सेकेन्डभित्र दौडिने लक्ष्यमा छन्।
महिला खेलाडीबाट पनि आशा
महिलातर्फ सन्तोषी श्रेष्ठले ५ हजार र १० हजार मिटरमा प्रतिस्पर्धा गर्नेछिन्। दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितिसकेकी सन्तोषी राष्ट्रिय कीर्तिमानधारीसमेत हुन्।
उनले १० हजार मिटरमा ३४ मिनेट ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। सन्तोषीसँगै पूर्णलक्ष्मी न्यौपानेले १५ सय र ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछिन्।
१५ सय र ५ हजार मिटरमा मुकेश पालले पनि नेपालको प्रतिनिधित्व गर्नेछन्। पालको नाममा ३ हजार मिटरतर्फको राष्ट्रिय कीर्तिमान रहेको छ।
तीन वर्षदेखि निरन्तर तयारी
सन् २०२३ मा चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद सकिएलगत्तै ‘मिसन २०२६’ अन्तर्गत नेपाली एथ्लेटिक्स टोलीले तयारी सुरु गरेको थियो।
एसियाली खेलकुदका १९ संस्करणमध्ये १७ संस्करणमा सहभागी भए पनि नेपाली एथ्लेटिक्सले अपेक्षाअनुसार सफलता हासिल गर्न सकेको छैन। त्यसैले यसपटकको प्रतियोगितामा एथ्लेटिक्सबाट प्राप्त हुने कुनै पनि पदक नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि बन्नेछ।
लामो समयदेखिको तयारी, राष्ट्रिय कीर्तिमानको नजिक रहेका खेलाडी र अन्तर्राष्ट्रिय अनुभवका आधारमा नेपाली एथ्लेटिक्स टोलीले यसपटक एसियाडमा नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्