काठमाडौँ । जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली पुरुष क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्।
एसियाडको क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा आयोजक जापान र अफगानिस्तान रहेका छन्। समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन्।
समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले भने वरीयताका आधारमा सिधैँ क्वार्टरफाइनलमा स्थान बनाएका छन्। नेपाल समूह चरण पार गर्न सफल भएमा क्वार्टरफाइनलमा एसियाका बलिया टोलीमध्ये कुनै एकसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। क्वार्टरफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।
आगामी एसियाडमा क्रिकेटका खेल टी–२० ढाँचामा सञ्चालन हुनेछन्। नेपालले समूह ‘ए’ अन्तर्गत पहिलो खेल आयोजक जापानसँग खेल्नेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यसहित नेपाली टोली प्रतियोगितामा सहभागी हुनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्