काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।
बयानका लागि मंगलबार विशेष अदालतमा उपस्थित भएका गोल्छाको बयान तथा थुनछेक बहस सकिएपछि अदालतले धरौटी माग गरेको हो ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा तारिखमा राख्ने आदेश दिएको हो । गोल्छाले अदालतले तोकेको धरौटी रकम बुझाएर तारिखमा बस्ने तयारी गरेका छन् ।
यसअघि पनि मागिएको थियो धरौटी
यसअघि गोल्छासँग जिल्ला अदालत काठमाडौंले बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
५२ करोड ५० लाख बिगो दाबी
गोल्छासमेत जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दीपक भट्ट, शुलभ अग्रवालसहित ३४ जना व्यक्ति र पाँचवटा कम्पनीलाई प्रतिवादी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै, दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा तथा शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १ सय २४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्