काठमाडौँ । सरकारप्रतिको नागरिकको अविश्वास बढ्दै गएकाले देशमा निराशाको वातावरण सिर्जना भएको नेपाली कांग्रेसले जनाएको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै सरकारका गतिविधिले यस्तो अवस्था बढेको बताएका छन्। सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकारको बानि चिन्ताको विषय भएको पनि विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले सरकारले पटकपटक सहमति खोज्ने तर त्यसको इमानदार कार्यान्वयनमा तत्परता नदेखाउने गरेको भन्दै यसले गर्दा सरकारप्रतिको अविश्वास बढिरहेको जनाएको छ। ‘सरकारप्रतिको अविश्वासको यो वातावरणले समाज र राष्ट्रमा निराशा बढाउँदै लगेको छ,’ कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘राज्य नागरिकको अभिभावक हो भन्ने विश्वास पनि टुट्दै गएको छ।’
कांग्रेसले सरकारलाई यस गम्भीर स्थितिलाई ध्यानमा राख्न आग्रह गरेको छ। ‘नेपाली कांग्रेसको यो बैठक सरकारलाई गम्भीर बन्न अनुरोध गर्दछ,’ निर्णयमा भनिएको छ। साथै, पार्टीले कप्तानगन्ज घटनाको निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न माग गरेको छ।
विनय यादवको स्वास्थ्यप्रति चिन्ता
न्यायको लागि अनसनमा बसिरहेका विनय यादवको जीवन रक्षा गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। १२ दिनदेखि अनशनरत रहेका यादवको स्वास्थ्य स्थिति गम्भीर वन्दै गए पनि सरकारले चासो नदेखाएको भन्दै कांग्रेस थप चिन्तित भएको जनाएको छ।
‘अतः नेपाली कांग्रेस यसै विज्ञप्तिमार्फत तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न जोडदार माग गर्दछ,’ कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ। पार्टीले सम्झौताको तत्काल कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्