गौर। रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा आज तीन जना बालबालिका वेपत्ता भएका छन्। दिउँसो करिब २ बजे सो खोलामा पौडी खेल्ने तथा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार, स्थानीय करमे आलमका छोरा रमतुलाह, हिसी अकतरकी छोरी सबनम खातुन, र शेख खुर्सैदकी छोरी रौशन खातुन वेपत्ता भएका हुन्। उनीहरू सबै १० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ। प्रहरीले बेपत्ता भएका बालबालिकाको खोजी कार्य जारी रहेको जनाएको छ, तर अहिलेसम्म कसै पनि फेला परेको छैन।
घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सात जना प्रहरी र जिल्लास्थित सशस्त्र प्रहरी बलका १४ जनाको टोली उद्धार कार्यमा खटिएको छ। उनीहरू ‘रबर बोट’सहित घटनास्थलतर्फ परिचालन भएका छन्, तर हराएका बालबालिकाको अवस्था अझै अज्ञात रहेको प्रहरीले बताएको छ। सुरक्षाकर्मीसँगै स्थानीयवासीहरूले पनि बेपत्ता बालबालिकाको खोजी तथा उद्धारमा सहभागिता जनाइरहेका छन्।
घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब ६ किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले सो घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
खोजी कार्य जारी
प्रहरी नायव उपरीक्षक गौतमले बेपत्ता बालबालिकाको खोजीका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिए। उहाँले सुरक्षाकर्मी र स्थानीयवासीहरूलाई परिचालन गरिएको र खोजी कार्यलाई तीव्रता दिइएको बताउनुभयो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्