रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीले भ्रष्टाचारको आरोपमा दायर भएको मुद्दामा सफाइ पाएका छन्।
सव–इन्जिनियरको करार अवधि थप गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर वादीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले २०८२ चैतमा मेयर वादी र चौरजहारी नगरपालिकाका असिस्टेन्ट सव–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। शाहले आर्थिक वर्ष २०८१/०८२ को करार अवधि थप गर्ने क्रममा मेयर वादीलाई एक लाख रुपैयाँ घुस दिएको र आर्थिक वर्ष २०८२/०८३ मा करार नवीकरणका लागि पुनः सोही रकम मागेको आरोप लगाएका थिए।
शाहले आफूले घुसबापत एक लाख रुपैयाँ बैंकमा जम्मा गरिदिएको भौचरसमेत प्रमाणका रूपमा पेस गरेका थिए। अख्तियारले घुस लिएको आरोप लागेका मेयर वादीसँगै घुस दिएको भनिएका शाहलाई पनि प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो।
तर, मेयर वादीले उक्त रकम घुस नभई सापटी भएको र आफूले रकम फिर्ता गरिसकेको दाबी गर्दै आएका थिए।
विशेष अदालतका न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार आरोप पुष्टि हुन नसकेको भन्दै वादी र शाह दुवैलाई सफाइ दिएको हो।
भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका मेयर वादीले अब आफू काममा फर्किने बताएका छन्।
असिस्टेन्ट सव–इन्जिनियर शाह विगत आठ वर्षदेखि चौरजहारी नगरपालिकामा करार सेवामा कार्यरत थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्