काठमाडौं । ‘माथिबाट ठूलो बाढी आइरहेको छ, छिटो माथिल्लो भागको सुरक्षित स्थानतर्फ जानुहोस् ।’
भोटेकोशी नदीमा बाढीको भेल तीव्र रूपमा बढिरहेका बेला नदी किनारका बस्ती र बजारमा प्रहरीहरू यही सूचना दिँदै दौडिरहेका थिए। नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीहरूलाई नै केहीबेरमा बाढीको भेलले बगायो।
नागरिकको ज्यान जोगाउने क्रममा प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल, प्रहरी सहायक निरीक्षक रामहरि खड्का र प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टले ज्यान गुमाए। उनीहरूको शव फेला परिसकेको छ।
सोही टोलीमा रहेका प्रहरी सहायक हवल्दार सन्तोष रिजाल भने भागेर ज्यान जोगाउन सफल भए।
त्यो दिनको घटना सम्झिँदै रिजालले भने, “अचानक बाढीको भेल तीव्र गतिमा आउने सूचना पाएपछि हामी स्थानीयवासीलाई सुरक्षित स्थानमा जान माइकिङ गर्दै दौडिरहेका थियौँ । त्यही बेला हामीलाई नै बाढीले चपेटामा पार्यो।”
रिजालले मोटरसाइकल त्यहीँ छाडेर ज्यान जोगाउन माथितर्फको जंगलमा दौडिएको बताए। केही सेकेन्डको फरकले आफू बाँच्न सफल भएको उनको भनाइ छ।
तर, ज्यान जोगिएको खुसीभन्दा सहकर्मी गुमाएको पीडा उनको मनमा गहिरो छ। आँखैअगाडि मानिस, घर र आफ्नै सहकर्मी बाढीको भेलमा हराएको दृश्य अझै उनको सम्झनाबाट हटेको छैन।
प्रत्यक्षदर्शीका अनुसार पाँच–छ जना प्रहरीको टोली स्थानीय बासिन्दालाई जोखिम क्षेत्र छाड्न आग्रह गर्दै दौडिरहेको थियो। प्रहरीले दिएको चेतावनीपछि धेरै नागरिक सुरक्षित स्थानमा पुग्न सफल भए। तर, नागरिकलाई सुरक्षित बनाउन दौडिएका प्रहरीहरू आफैँ बाढीको भेलबाट उम्कन सकेनन्।
२५ प्रहरी अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा नागरिकको उद्धार तथा सुरक्षाका क्रममा नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन भएको विवरण छ। तीमध्ये तीन जनाको शव फेला परिसकेको छ भने २५ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी चौकी टिमुरेका आठ, स्याफ्रुबेँसीका तीन, रसुवागढीका आठ, हाकुका एक र अस्थायी प्रहरी पोस्ट मैलुङका पाँच जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
यसैगरी बाढीमा नेपाली सेनाका ४५ जना र सशस्त्र प्रहरीका १३ जना पनि सम्पर्कविहीन रहेको विवरण छ।
विपद्को समयमा नागरिकको ज्यान जोगाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी आफैँ जोखिममा परेपछि खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी गर्नु संगठनकै दायित्व भएको बताए।
“प्रहरीको पहिलो दायित्व भनेको नागरिकको जिउधनको सुरक्षा नै हो। यही जिम्मेवारी पूरा गर्ने क्रममा हाम्रा परिवार बेपत्ता छन्, खोज्न हामी नै लाग्नुपर्छ, यो हाम्रै दायित्व हो,” उनले भने।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले विपद्को समयमा नागरिकको ज्यान जोगाउने क्रममा आफ्नै सदस्य गुमाउँदा संगठन शोकमा रहेको बताए।
सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि छुट्टै टोली परिचालन गरिएको उनले जानकारी दिए।
“विपद्को समयमा प्रहरीको जिम्मेवारी शान्ति सुरक्षामा मात्र सीमित हुँदैन। जोखिमको सूचना प्रवाह गर्ने, नागरिकलाई सुरक्षित स्थानमा लैजाने, खोज तथा उद्धार गर्ने र आवश्यक परे शव व्यवस्थापन गर्नेसम्मको जिम्मेवारी प्रहरीकै काँधमा हुन्छ,” काफ्लेले भने, “उही जिम्मेवारी पूरा गर्ने क्रममा हाम्रा साथीहरू पनि बाढीको चपेटामा पर्नुभएको छ।”
प्रहरीको पोसाकमा एउटा पद हुन्छ, तर त्यही पोसाकभित्र एउटा परिवार पनि हुन्छ। प्रहरी पनि कसैका सन्तान, श्रीमान्, बुवा, दाजु वा भाइ हुन्। अहिले बेपत्ता सुरक्षाकर्मी फर्किने व्यग्र प्रतीक्षामा उनीहरूका परिवार र बालबालिका छन्।
ड्युटी सकेर घर फर्किने पर्खाइमा रहेका कैयौँ प्रहरीका परिवारमा अहिले ठूलो बेचैनी छ। आफ्नो ज्यान जोखिममा रहेको थाहा हुँदाहुँदै नागरिकलाई बचाउन दौडिएका प्रहरी आफैँ घर नफर्किएको खबरले उनीहरूलाई स्तब्ध बनाएको छ।
यसैबीच प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले मृतक प्रहरीका परिवारका सदस्यलाई रोजगारी तथा शैक्षिक अध्ययनको ग्यारेन्टी गर्ने निर्णयसमेत गरेको छ।
नागरिकलाई बचाउन अग्रपङ्क्तिमा खटिएका प्रहरीको यो बलिदानले विपद्को समयमा सुरक्षाकर्मीले निर्वाह गर्ने भूमिकाको गहिराइ देखाएको छ। बाढीले धेरै घर र बस्ती बगाए पनि नागरिकलाई बचाउन दौडिएका ती प्रहरीको कर्तव्यबोध र साहस भने सम्झनामा रहनेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्