काठमाडौँ । भारतका विभिन्न वन्यजन्तु आरक्ष तथा संरक्षित क्षेत्रबाट नेपाल प्रवेश गर्ने जङ्गली हात्ती लामो समयसम्म नेपालमै बस्न थालेपछि मानव–हात्ती द्वन्द्व गम्भीर बन्दै गएको छ। विशेषगरी पूर्वी नेपालको झापा हुँदै प्रवेश गर्ने हात्तीका कारण पछिल्ला वर्षहरूमा मानवीय क्षति र बालीनाली नोक्सानीका घटना बढिरहेका छन्।
झापाको बाहुनडाँगी क्षेत्र हुँदै भारतको महानन्दा वन्यजन्तु अभयारण्यबाट आउने हात्तीको समूह मेची नदी पार गरेर नेपाल प्रवेश गर्ने गरेको विज्ञहरू बताउँछन्। भारतको उक्त क्षेत्र मेची नदीबाट करिब १५० किलोमिटर टाढा रहे पनि हात्ती लामो दूरी तय गर्दै नेपाल प्रवेश गर्ने गरेका छन्।
पहिले भारत र नेपालबीच मौसमी रूपमा आवतजावत गर्ने हात्ती अहिले भारततर्फको वासस्थानमा बढ्दो दबाबका कारण नेपालमै लामो समय बस्न थालेको विज्ञहरूको भनाइ छ। यसले मानव बस्ती र हात्तीबीचको सम्पर्क बढाउँदै द्वन्द्वलाई थप गम्भीर बनाएको छ।
नेपालमा हात्तीको सङ्ख्या बढ्दो
नेपालमा करिब ३२० वटा रैथाने हात्ती रहेको अनुमान छ। तर हाल नेपाली भूभागमा विचरण गर्ने हात्तीको सङ्ख्या ४५० भन्दा बढी पुगेको छ।
यसमा ठूलो हिस्सा भारतबाट मौसमी रूपमा नेपाल प्रवेश गर्ने हात्तीको रहेको हात्तीविज्ञ डा. अशोककुमार राम बताउनुहुन्छ।
उहाँका अनुसार पहिले भारतबाट नेपाल प्रवेश गर्ने हात्ती केही समयपछि पुनः भारत फर्किन्थे। तर पछिल्लो समय भारततर्फकै वासस्थानमा दबाब बढेपछि उनीहरूको नेपाल बसाइ लम्बिन थालेको छ।
“अघिल्लो समयमा भारतबाट प्रवेश गरेका हात्तीहरू फेरि उतै फर्किन्थे, तर अहिले उताको वासस्थानमा समस्या थपिएपछि उनीहरू नेपालमै बस्न थालेका छन्,” डा. रामले भन्नुभयो।
यसको प्रत्यक्ष असर बस्ती, खेतीयोग्य जमिन र वन क्षेत्रको सीमामा देखिएको छ।
१६ वर्षमा ८० जनाको मृत्यु
पूर्वी नेपालको तराई क्षेत्रमा पछिल्लो १६ वर्षमा जङ्गली हात्तीका कारण ८० जनाको मृत्यु भएको तथ्याङ्क छ। यही अवधिमा १६ वटा हात्तीसमेत मरेका छन्।
झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिन्धुलीलगायत जिल्लामा मानव–हात्ती द्वन्द्वका घटना बढी देखिएका छन्।
डा. रामका अनुसार नेपालभर हात्तीको आक्रमणबाट ३५७ जनाको मृत्यु भएको छ भने ५७ वटा हात्तीको मृत्यु भएको तथ्याङ्क छ।
मानवीय क्षति मात्र नभई हात्तीले घर, अन्नबाली, तरकारी तथा अन्य कृषि उत्पादनमा समेत ठूलो क्षति पुर्याउने गरेका छन्।
भारतबाट पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने हात्तीको विचरण क्षेत्र झापामा मात्र सीमित छैन। विज्ञहरूका अनुसार त्यस्ता हात्तीका समूह सर्लाहीसम्म पुग्ने गरेका छन्।
कोशीटप्पु क्षेत्रमा हाल करिब ४० वटा हात्तीको समूह बस्ने गरेको डा. राम बताउनुहुन्छ।
यसले हात्तीको परम्परागत आवागमन मार्ग र उनीहरूको प्राकृतिक वासस्थान संरक्षणको आवश्यकता झनै बढाएको छ। हात्तीका लागि आवश्यक वन क्षेत्र खण्डीकरण हुँदै जाँदा उनीहरू मानव बस्ती र कृषि क्षेत्रमा प्रवेश गर्ने सम्भावना बढ्दै गएको छ।
मानव–हात्ती द्वन्द्व पूर्वी नेपालमा मात्र सीमित छैन। पश्चिम नेपालमा पनि भारतबाट आउने हात्तीका कारण बालीनाली तथा मानवीय क्षतिको जोखिम बढिरहेको छ।
भारतको नन्दुर वन्यजन्तु अभयारण्यबाट महाकाली नदीको ब्रह्मदेव क्षेत्र हुँदै हात्ती नेपाल प्रवेश गरी शुक्लाफाँटा क्षेत्रमा पुग्ने गरेका छन्।
त्यस्तै, भारतको पिलिभित टाइगर रिजर्भ र दुधुवा राष्ट्रिय निकुञ्ज हुँदै लालझाडी–मोहना जैविक मार्गबाट नेपाल प्रवेश गर्ने हात्तीले कृषि क्षेत्रमा क्षति पुर्याउने गरेका छन्।
नेपालमा रैथाने हात्तीको महत्वपूर्ण बासस्थानका रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा करिब १२० वटा हात्तीको समूह बस्ने गरेको विज्ञहरू बताउँछन्।
भारतको कतरनियाघाट वन्यजन्तु अभयारण्यबाट आउने हात्तीले बाँके र बर्दियामा समेत बालीनाली नष्ट गर्ने तथा कतिपय अवस्थामा मानिसमाथि आक्रमण गर्ने गरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार बाँकेको कम्दी जङ्गलसँग जोडिएको भारतको सोहेल्वा वन्यजन्तु अभयारण्यबाट नेपाल प्रवेश गर्ने हात्तीको समूहले बाँके र दाङ क्षेत्रमा समेत क्षति पुर्याउने गरेको छ।
हात्ती संरक्षित वन्यजन्तु भएकाले यसलाई नियन्त्रण गर्ने नाममा प्रत्यक्ष रूपमा मार्न वा हानि पुर्याउन सकिँदैन। त्यसैले मानव बस्ती र हात्तीको आवागमन क्षेत्रबीच सुरक्षित दूरी कायम गर्ने तथा द्वन्द्व न्यूनीकरण गर्ने उपाय नै प्रमुख चुनौती बनेको छ।
हात्तीमा विद्यावारिधि गर्नुभएका डा. नरेन्द्रबाबु प्रधानका अनुसार मानव–हात्ती द्वन्द्व अहिले संरक्षण क्षेत्रको प्रमुख चुनौतीमध्ये एक बनेको छ।
विज्ञहरूका अनुसार मानव–हात्ती द्वन्द्वलाई केवल ‘हात्तीको आक्रमण’का रूपमा हेर्नु पर्याप्त हुँदैन। हात्तीका परम्परागत आवागमन मार्ग, वन क्षेत्र र पानीका स्रोत खण्डित हुँदै जाँदा उनीहरू मानव बस्ती र खेतीयोग्य क्षेत्रमा पुग्ने अवस्था सिर्जना भएको छ।
विशेषगरी सीमापारि रहेका हात्तीका बासस्थान र नेपालका वन क्षेत्रबीचको वन्यजन्तु करिडोर संरक्षण गर्न नसक्दा समस्या थप जटिल बन्दै गएको छ।
हात्तीका आवागमन मार्ग पहिचान गर्ने, सीमापारि भारतसँग समन्वय गर्ने, वन क्षेत्रलाई जोड्ने तथा जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणाली विकास गर्ने उपायलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ।
सहअस्तित्वको चुनौती
हात्तीको संरक्षणसँगै स्थानीय नागरिकको ज्यान, घर र जीविकोपार्जनको सुरक्षा गर्नु राज्यको समान जिम्मेवारी हो। त्यसैले मानव–हात्ती द्वन्द्व समाधानका लागि तत्काल राहत र क्षतिपूर्तिसँगै दीर्घकालीन संरक्षण नीति आवश्यक देखिन्छ।
भारतबाट आउने हात्तीलाई रोक्नेभन्दा उनीहरूको प्राकृतिक आवागमन मार्ग सुरक्षित गर्ने, मानव बस्तीलाई जोखिमबाट जोगाउने र सीमापारि संरक्षण निकायसँग सहकार्य गर्ने नीति नै दीर्घकालीन समाधान हुन सक्छ।
हात्तीको वासस्थान सुरक्षित भए मात्र हात्ती र मानवबीचको दूरी कायम गर्न सकिन्छ। अन्यथा वन्यजन्तु संरक्षण र स्थानीय नागरिकको सुरक्षाबीचको द्वन्द्व आगामी दिनमा अझ गम्भीर बन्न सक्ने जोखिम छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्