काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले प्राकृतिक स्रोतको पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपालले त्यसको प्रभावकारी उपयोग गर्न नसकेको बताएकी छन्।
बुधबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा उनले वन, खानीलगायत प्राकृतिक स्रोतको उपयोगमा रहेका नीतिगत जटिलता र बहुनिकायको स्वीकृति प्रक्रियाले विकासका काम प्रभावित भइरहेको बताइन्।
नेपालमा ६० भन्दा बढी प्रकारका खनिज तथा खनिज स्रोत भएका एक हजारभन्दा बढी स्थान पहिचान भइसके पनि खानी क्षेत्रको अर्थतन्त्रमा योगदान न्यून रहेको भन्दै उनले यसको मुख्य कारण स्रोतको अभाव नभई नीतिगत समस्या भएको बताइन्।
सिमेन्ट उद्योगको उदाहरण
सांसद अधिकारीले सिमेन्ट उद्योगको उदाहरण दिँदै स्पष्ट नीतिगत वातावरण पाए नेपाल आयातमा निर्भर अवस्थाबाट उत्पादन तथा निर्यातको सम्भावनासम्म पुग्न सक्ने बताइन्। फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा पनि सिमेन्ट उद्योगकै सफलता दोहोर्याउन नसक्नुको कारणबारे उनले आयोगसँग प्रश्न गरिन्।
वन क्षेत्रको स्वीकृति प्रक्रिया
उनले वन क्षेत्र पर्याप्त भए पनि नेपालले काठजन्य वस्तु आयात गरिरहेको विषयसमेत उठाइन्। विकास तथा पूर्वाधार निर्माणका क्रममा एउटा रुख काट्नसमेत लामो समय लाग्ने र वन, वातावरण, भूमि, सडक तथा विद्युत्लगायत विभिन्न निकायबाट छुट्टाछुट्टै स्वीकृति लिनुपर्ने अवस्थाले आयोजना वर्षौं अल्झिने गरेको उनको भनाइ थियो।
प्राकृतिक स्रोतको उपयोगमा देखिएका यस्ता समस्या समाधान गर्न आयोगले आवश्यक पहल गर्नुपर्ने भन्दै अधिकारीले विकास आयोजना समयमै सम्पन्न हुने वातावरण बनाउन आग्रह गरिन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्