सल्यान । पश्चिम सल्यानको भेरी नदीमा बोलेरो जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब २ बजे वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डमा बालुवासङ्ग्राहीबाट सल्लिबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिपमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा घाइते भएका वनगाड कुपिण्डे नगरपालिका–१ आँपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीलाई उपचारका लागि सल्ली सिटी अस्पताल लगिएको छ।
प्रेम विकको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको देब्रे खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको छ।
दुर्घटनामा परेका अन्य दुई जना भने जिपसहित भेरी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन।
घटनापछि नेपाल प्रहरीका करिब ३० जना र सशस्त्र प्रहरीका ११ जनाको टोली घटनास्थलमा परिचालन गरी खोज तथा उद्धार तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यान र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ।
खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सुर्खेतबाट सशस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाउने विषयमा समन्वय भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्