काठमाडौं । नेपाल सरकारले काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले उक्त निर्णयको स्वागत गरेको छ।
एनआरएनए पोर्चुगलले नेपाल तथा पोर्चुगल सरकारप्रति आभार व्यक्त गर्दै काठमाडौंमा कन्सुलर कार्यालय स्थापना हुनु पोर्चुगलमा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।
नेपाल सरकारको २०८३ साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय गरेको थियो। कार्यालय निकट भविष्यमै सञ्चालनमा आउने अपेक्षा गरिएको एनआरएनए पोर्चुगलले जनाएको छ।
एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले जारी गरेको विज्ञप्तिमा काठमाडौंमै पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि नेपालीले विभिन्न कन्सुलर सेवा लिन सहज हुने उल्लेख गरिएको छ।
विशेषगरी पारिवारिक पुनर्मिलन, भिसा तथा अन्य कन्सुलर सेवाका लागि भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने बाध्यता कम हुने संघको विश्वास छ।
सरकारको पहलपछि कन्सुलर कार्यालयको निर्णय
नयाँ सरकार गठन भएपछि काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय स्थापना गर्न नेपाल सरकारका तर्फबाट आवश्यक पहल अघि बढाइएको थियो।
यसै क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका राज्य तथा विदेश मामिलामन्त्री पाउलो राङ्गेलसँग टेलिफोन संवाद गरी कन्सुलर कार्यालय स्थापनालगायतका विषयमा छलफल गरेका थिए।
नेपाल सरकारको अनुरोध तथा त्यसपछिका कूटनीतिक पहलपछि पोर्चुगल सरकारले काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेको एनआरएनए पोर्चुगलले जनाएको छ।
संघले यसलाई पोर्चुगलमा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
नेपाल र पोर्चुगलबीच १ सेप्टेम्बर १९७६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
लामो समयसम्म नेपालले पोर्चुगलमा आवासीय दूतावास स्थापना नगरेकाले पोर्चुगलसम्बन्धी नेपाली कूटनीतिक जिम्मेवारी पेरिसस्थित नेपाली दूतावासले सम्हाल्दै आएको थियो।
नेपाल सरकारले सन् २०२५ मार्चमा लिस्बनमा आवासीय नेपाली राजदूतावास स्थापना गरेको थियो। लिस्बनस्थित नेपाली दूतावासका पहिलो आवासीय राजदूत प्रकाशमणि पौडेल हुन्।
दूतावासको औपचारिक उद्घाटन भने २० फेब्रुअरी २०२६ मा परराष्ट्र सचिव अमृतबहादुर राईको पोर्चुगल भ्रमणका क्रममा गरिएको थियो।
लिस्बनमा नेपाली दूतावास स्थापना भएसँगै नेपाल–पोर्चुगल सम्बन्ध थप संस्थागत र प्रत्यक्ष बनेको एनआरएनए पोर्चुगलको भनाइ छ।
पोर्चुगलमा रहेका नेपालीको यकिन संख्या नभए पनि ६० हजारभन्दा बढी नेपाली रहेको अनुमान नेपाली दूतावासले गरेको एनआरएनए पोर्चुगलले जनाएको छ।
ठूलो नेपाली समुदाय रहेको पोर्चुगलका लागि काठमाडौंमै कन्सुलर सेवा सुरु हुनु महत्वपूर्ण कदम भएको संघको भनाइ छ।
कन्सुलर कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीले विभिन्न सेवा लिन भारतको नयाँ दिल्लीसम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसबाट सेवाग्राहीको समय र आर्थिक खर्च बचत हुनुका साथै कन्सुलर सेवा प्रवाह थप सहज र प्रभावकारी हुने विश्वास गरिएको छ।
भिसा र पारिवारिक पुनर्मिलन सेवामा सहजता
काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय सञ्चालनमा आएपछि भिसा, पारिवारिक पुनर्मिलनलगायतका कन्सुलर सेवाका लागि नेपालमै सेवा प्राप्त गर्ने अवसर बढ्ने अपेक्षा गरिएको छ।
यसअघि सम्बन्धित सेवाका लागि भारतसम्म पुग्नुपर्ने अवस्थाका कारण सेवाग्राहीले अतिरिक्त समय र खर्च व्यहोर्नुपर्ने अवस्था थियो।
कन्सुलर कार्यालय स्थापनाले नेपाल–पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई थप प्रत्यक्ष बनाउनुका साथै दुवै देशबीचको जनस्तरीय सम्बन्ध र सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्