काठमाडौं । सरकारले एनसेल आजियाटाको सेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयपछि सूचना तथा सञ्चार मन्त्रालयले समितिको प्रतिवेदन सार्वजनिक गरेको हो।
समितिको प्रतिवेदनअनुसार एनसेल आजियाटा साविकको स्पाइस सेल प्रालिका रूपमा विसं २०५८ मा स्थापना भएदेखि हालसम्म १४ पटक सेयर तथा स्वामित्व खरिदबिक्री भएको छ।
तीमध्ये अधिकांश कारोबार नेपालबाहिर अफसोर संरचनामार्फत भएको र त्यससँग सम्बन्धित सम्पूर्ण अभिलेख तथा विवरण नेपालका सम्बन्धित आधिकारिक निकायमा पेस भएको नदेखिएको समितिको निष्कर्ष छ।
प्रतिवेदनमा कतिपय नेपाली सेयरधनीको कारोबारको भुक्तानीसमेत नेपालको बैंकिङ प्रणालीमार्फत नभई विदेशमा भएको देखिएको उल्लेख छ।
समितिले एनसेलको सेयर तथा स्वामित्व हस्तान्तरणका क्रममा भएका कारोबार, त्यससँग सम्बन्धित कानुनी तथा वित्तीय प्रक्रिया र राज्यलाई प्राप्त हुनुपर्ने राजस्वलगायतका विषयमा अध्ययन गरी विभिन्न सुझाव दिएको छ।
सरकारले अब प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने निर्णय गरेसँगै एनसेलको विगतका सेयर तथा स्वामित्व कारोबारसँग सम्बन्धित विषय थप प्रक्रियामा जाने भएको छ।
प्रतिवेदनको पूर्णपाठ पढ्नुहोस्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्