काठमाडौं । राप्रपाबाट निस्किएको डा. धवलशम्शेर राणाको समूहले साउन २९ गते नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ नाममा निर्वाचन आयोगमा विधिवत दर्ता गर्ने भएको छ ।
धवलशम्शेरको समूह र राजावादी व्यवसायी दुर्गा प्रसाईंको समूहबीच एकता घोषणा भए पनि, पार्टी दर्ता हुन नपाई नै उक्त एकता भंग हुने सम्भावना बढेको छ । प्रसाईँले हालै एक युट्यूव च्यानललाई दिएको अन्तरवार्तामा धवलशम्शेरमाथि विभिन्न आरोप लगाएका थिए, जसले गर्दा अब सहकार्यको सम्भावना लगभग समाप्त भएको धवल समूहको भनाइ छ।
पार्टी दर्ताको तयारी र सरकारको भूमिका
धवल पक्षका नेता मुकुन्दश्याम गिरीले २९ गते पार्टी दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए । उहाँले भने, ‘उहाँहरु (दुर्गा पक्ष) आउनुहुन्छ भन्ने नै छ, आउनुभएन भने पनि हामी अब रोकिँदैनौँ ।’ यसअघि राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता बन्ने गरी पार्टी गठनको घोषणा भएको थियो । तर, वरीयतामा को अगाडि रहने भन्ने विषयमा विवाद उत्पन्न भएको छ।
विवादका मुख्य कारण
धवलपक्षले अध्यक्ष पहिलो वरीयतामा हुनुपर्ने भनाइ राखेको छ, जबकि प्रसाईंले ‘सर्वोच्च नेता’ भन्दा माथि अरु कोही हुन नसक्ने तर्क गरेका छन् । प्रसाईं पक्षले ‘सर्वोच्च नेता’को काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने माग गरिरहेको छ । उनीहरुले सर्वोच्च नेता कार्यकारी अधिकारयुक्त हुनुपर्ने र अध्यक्षसँग अधिकार बाँडफाँट गर्नुपर्ने अडान लिएका छन्।
चुनावमा टिकट वितरण गर्दा दुर्गा प्रसाईंले हस्ताक्षर गर्नुपर्ने माग राखिएको छ, तर धवल पक्ष यसमा सहमत छैन । हिजो दुवै पक्षको कार्यदलको बैठक बसे पनि सहमति जुट्न सकेन ।
सहकार्यको सम्भावना
धवल पक्षका गिरी भन्छन्- ‘सकेसम्म मिलेरै जाने पक्षमा छौं । उहाँ (दुर्गा प्रसाईं) ले दिएका अभिव्यक्तिहरु उहाँका निजी धारणा हुन्, त्यसैले सहकार्य तोडिन्छ जस्तो लाग्दैन ।’ दुर्गा प्रसाईं पक्षका नेता माधव कल्पित आफूहरु मिलेरै जाने पक्षमा रहेको बताउँछन् । अहिले पनि संवाद भइरहेको र २९ गते सँगै दर्ता गर्न जाने सम्भावना कायमै रहेको उनको दाबी छ ।
कल्पितले भने, ‘सहकार्य टुटिसक्यौ भन्ने होइन, म त जसरी पनि मिल्नुपर्छ भन्नेमा नै छु ।’ दुर्गा प्रसाईंले धवलशम्शेरविरुद्ध दिएका अभिव्यक्तिले एकतामा आँच नआउने उहाँको भनाइ छ । ‘बिहानदेनि बेलुकासम्म बोलिरहने मान्छेले कहिलेकाहीँ सही कुरा बोल्छन्, कहिले गलत बोल्छन् । त्यसलाई धेरै गम्भीररुपमा लिइरहनु पर्छ जस्तो लाग्दैन,’ उनले थपे ।
पार्टीको संरचना र दर्ता प्रक्रिया
प्रस्तावित अध्यक्ष राणाकी प्रेस संयोजक राधिका जोशीले सहकार्यको सम्भावना क्षिण भइसकेको बताउँछिन् । ‘दुर्गा प्रसाईंले अन्तर्वार्तामा जेजस्ता कुराहरु बोल्नुभएको छ, त्यसले सहकार्यको वातावरण बिग्रिएको छ,’ उनी भन्छिन्, ‘हामी आफ्नो तरिकाले २९ गते पार्टी दर्ताको तयारीमा छौं । उहाँहरूको पक्षबाट आउनुहुनेलाई समेट्छौं, तर संस्थागत सहकार्यको अवस्था अब रहेन ।’
दुई पक्षबीच १०१ जनाको केन्द्रीय समिति बनाउने समझदारी भएको थियो । त्यसमा धवल समूहबाट ४० जना, प्रसाईं समूहबाट ४० जना र बाँकी २० जना अन्य समूहबाट आउनेलाई स्थान दिने भनिएको छ । पार्टी दर्ताका लागि २९ गते साढे १२ बजे निर्वाचन आयोगमा समय लिइएको जोशीले बताइन् ।
अन्तिम तयारी
यसअघि भएको सहमति अनुसार दर्ता प्रक्रिया अगाडि बढाउन धवल समूह प्रतिबद्ध रहेको बताइएको छ, तर दुर्गा प्रसाईं पक्षको सहभागिता अनिश्चित देखिएको छ। दुवै पक्षले एकअर्कालाई सहमतिका लागि निरन्तर प्रयास गरिरहेको जनाए पनि, पछिल्लो समयमा उत्पन्न विवादले पार्टी एकतामा चुनौती थपेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्