रूपन्देही । नेपाली कांग्रेस सुस्ता गाउँपालिका सभापति रबिन्द्र जैसवालले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सुनवलस्थित रिबर्न होटलमा रास्वपाले आयोजना गरेको कार्यक्रममा जैसवालले कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेको घोषणा गरेका हुन्। उनीसँगै कांग्रेस, एमाले र जनमत पार्टीका गरी ३ सयभन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेको जनाइएको छ।
रास्वपाका जिल्ला सभापति रवि पाण्डे र सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य बिक्रम खनालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
जैसवालको नेतृत्वमा जनमत पार्टी सुस्ताका अध्यक्ष शत्रुधन यादवसहितको समूह रास्वपामा प्रवेश गरेको हो। कांग्रेसभित्र गुटबन्दी अन्त्य हुन नसकेको र पार्टी फुटको संघारमा पुगेको भन्दै जैसवालले पार्टी परित्याग गरेको बताएका छन्।
कांग्रेस नेतृत्वप्रति असन्तुष्टि
केही दिनअघि कांग्रेस जिल्ला सचिव एवं प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले सुस्ता निवासी जनमत पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा उम्मेदवार असरफ अलि चुरीहारलाई काठमाडौं लगेर कांग्रेस सभापति गगन थापाको हातबाट पार्टी प्रवेश गराएपछि जैसवाल रुष्ट बनेको बताइएको छ।
जैसवालमाथि गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाका उम्मेदवारलाई सहयोग गरेको आरोपसमेत लागेको थियो।
रास्वपामा प्रवेश गरेपछि जैसवालले कांग्रेसभित्रको गुटबन्दीका कारण सुस्ता गाउँपालिकाको विकास प्रभावित भएको दाबी गर्दै नयाँ पार्टीबाट विकासले गति लिने अपेक्षा व्यक्त गरे।
रास्वपा जिल्ला सभापति पाण्डेले ठूलो संख्यामा नेता–कार्यकर्ता पार्टीमा प्रवेश गर्नुले रास्वपाको संगठन थप बलियो बनेको बताए। प्रतिनिधिसभा सदस्य खनालले पनि नयाँ सदस्यहरूको सहभागिताबाट पार्टीलाई थप सशक्त बनाउँदै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्