काठमाडौं । कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि करिब ४८ घण्टापछि भग्नावशेषबाट एक नवजात शिशुलाई जीवितै उद्धार गरिएको छ। पश्चिमी कोलम्बियामा सोमबार गएको भूकम्पले ठूलो क्षति पुर्याएको छ।
भत्किएको आवासीय भवनको भग्नावशेषमुनि शिशुसहित एक व्यक्ति फसेका थिए। उद्धार टोलीले भग्नावशेषमुनिबाट आवाज सुनेपछि खोजी तीव्र बनाएको थियो। आवाज पछ्याउँदै उद्धारकर्ताले ठूलो कङ्क्रिटको स्ल्याबमुनि दुवै जनालाई फेला पारेका थिए।
उद्धारकर्ताहरूले सावधानीपूर्वक भग्नावशेष हटाएर शिशुलाई बाहिर निकालेका थिए। घटनास्थलमा खिचिएको भिडियोमा उद्धारकर्ताहरूले शिशुलाई बाहिर निकालेर तत्काल स्वास्थ्यकर्मीको जिम्मा लगाएको देखिन्छ।
भूकम्पमा ठूलो मानवीय क्षति
भूकम्पपछि कोलम्बियामा खोज तथा उद्धार कार्य जारी छ। पछिल्लो विवरणअनुसार कम्तीमा २६५ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। करिब ५०० जना अझै बेपत्ता रहेको रिपोर्ट गरिएको छ।
भूकम्पबाट पश्चिमी कोलम्बियाका काली, पेरेरा, मनिजालेस र क्विब्डोजस्ता क्षेत्र प्रभावित भएका छन्। भग्नावशेषमा अझै मानिस फसेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजी जारी राखेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्