काठमाडौं । बंगलादेशमा बढ्दो बिजुली संकटसँगै सरकारले ऊर्जा खपत घटाउन देशभरका सपिङ मल, बजार तथा पसल सञ्चालनको समय घटाएको छ।
नयाँ व्यवस्थाअनुसार अब सपिङ मल, बजार र पसलहरू राति ८ बजेपछि सञ्चालन गर्न पाइने छैन। यसअघि यस्ता व्यवसाय राति ९ बजेसम्म सञ्चालन गर्न अनुमति थियो।
बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयअन्तर्गतको पावर डिभिजनले नयाँ समयतालिकासम्बन्धी आदेश जारी गर्दै व्यवसाय सञ्चालनको समय एक घण्टा घटाएको हो। आदेशअनुसार नयाँ व्यवस्था अगस्ट १२ देखि नै लागू भएको छ।
नयाँ समयतालिकाअनुसार सपिङ मल, बजार तथा पसलहरू बिहान ११ बजेदेखि राति ८ बजेसम्म मात्र खुला राख्न पाइनेछ।
सरकारले विद्युत् संकट व्यवस्थापन र अनावश्यक ऊर्जा खपत नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ।
आदेशले व्यवसायमा प्रयोग हुने विद्युतीय विज्ञापन बोर्ड र सजावटी बत्तीमाथि समेत प्रतिबन्ध लगाएको छ। लाइट जडान गरिएका सबै विज्ञापन बोर्ड राति ७ बजेसम्म बन्द गरिसक्नुपर्नेछ। त्यसैगरी, पसल, बजार तथा व्यावसायिक क्षेत्रमा प्रयोग हुने सजावटी बत्ती पनि बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।
यो व्यवस्था देशभर आयोजना हुने तथा आगामी दिनमा आयोजना गरिने मेला, व्यापार मेला र सांस्कृतिक कार्यक्रमहरूमा समेत लागू हुने जनाइएको छ।
तर अत्यावश्यक सेवाअन्तर्गत पर्ने खाने–पिउने पसल, अस्पताल र मेडिकल स्टोरलगायत व्यवसायलाई भने सञ्चालन समयसम्बन्धी नयाँ प्रतिबन्धबाट छुट दिइएको छ।
बंगलादेश सरकारले पछिल्लो समय ऊर्जा आपूर्ति र विद्युत् व्यवस्थापनमा बढ्दो दबाबका कारण ऊर्जा खपत घटाउने उपायहरू अघि बढाउँदै आएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा बजारमा परेको प्रभावले बंगलादेशको ऊर्जा सुरक्षामाथि थप दबाब परेको सरकारी अधिकारीहरूको भनाइ छ।
यसअघि पनि सरकारले ऊर्जा बचत गर्ने उद्देश्यले सरकारी तथा निजी कार्यालयको कार्यसमय घटाउने निर्णय गरेको थियो। अप्रिल २ मा प्रधानमन्त्री तारिक रहमानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले कार्यालय सञ्चालनको समयसमेत एक घण्टा घटाउने निर्णय गरेको थियो।
पसल तथा बजार बन्द हुने समय एक घण्टा अगाडि सारिएसँगै साँझको समयमा हुने विद्युत् खपत घटाउने सरकारको अपेक्षा छ। विशेषगरी व्यापारिक क्षेत्रमा प्रकाश, वातानुकूलन प्रणाली, विज्ञापन बोर्ड तथा सजावटी बत्तीबाट हुने ऊर्जा खपत नियन्त्रण गर्न नयाँ व्यवस्था प्रभावकारी हुने सरकारको विश्वास छ।
यद्यपि, पसल तथा बजारको सञ्चालन समय घटाउँदा व्यवसायी, उपभोक्ता र साँझको व्यापारमा त्यसको प्रभाव पर्ने देखिएको छ। ऊर्जा संकट लम्बिँदै गएमा सरकारले थप ऊर्जा बचतका उपायहरू अघि सार्न सक्ने सम्भावना पनि छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्