सुनसरी । मनसुन सुरु भएसँगै कोशी प्रदेशमा चट्याङको जोखिम बढ्ने गरेको छ। पछिल्लो पाँच वर्षमा मात्रै चट्याङका कारण प्रदेशमा ६६ जनाको मृत्यु भएको छ भने २१८ जना घाइते भएका छन्।
गत असार १३ गते इलामको सुन्दर गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो। राति करिब १ बजे भारी वर्षाका बीच घरको बरन्डामा बसिरहेका मोक्तान चट्याङको चपेटामा परेका थिए।
त्यसको भोलिपल्ट सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङकी ३९ वर्षीया कुमारी राईको पनि चट्याङ लागेर मृत्यु भयो। हावाहुरी र वर्षाका बीच घरको मिटर बक्स बन्द गर्न गएकी राई चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भयो।
यी घटना चट्याङबाट हुने क्षतिका प्रतिनिधि उदाहरण हुन्। वर्षायाममा बाढी र पहिरोसँगै चट्याङ पनि नेपालमा जनधनको ठूलो क्षतिको कारण बन्दै आएको छ।
पाँच वर्षमा ६६ जनाको मृत्यु
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को असार २५ गतेसम्म चट्याङका कारण ६६ जनाले ज्यान गुमाएका छन् भने २१८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ४४ पुरुष र २२ महिला छन्। घाइतेमध्ये ११५ पुरुष र १०३ महिला रहेका छन्।
आव २०७८/७९ मा १५, २०७९/८० मा १२, २०८०/८१ मा १२, २०८१/८२ मा १८ र चालु आवमा नौ जनाको चट्याङका कारण मृत्यु भएको प्रहरी तथ्याङ्क छ।
प्रहरीका अनुसार बाहिरी काममा बढी संलग्न हुने भएकाले पुरुषहरू चट्याङको जोखिममा तुलनात्मक रूपमा बढी पर्ने गरेका छन्।
ओखलढुङ्गामा सबैभन्दा बढी घाइते
पाँच वर्षको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै घाइते ओखलढुङ्गामा ४३ जना भएका छन्। भोजपुरमा ४०, उदयपुरमा ३३, खोटाङमा २७ र ताप्लेजुङमा १९ जना घाइते भएका छन्।
त्यस्तै झापा र सुनसरीमा १३/१३, धनकुटामा नौ, पाँचथर र मोरङमा आठ/आठ तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन्। इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण छैन।
पशुधन र भौतिक संरचनामा पनि क्षति
चट्याङले मानवीय क्षतिसँगै पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ।
प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन्। चट्याङबाट लागेको आगलागीमा १७० घर तथा गोठ जलेर नष्ट भएका छन्। यसबाट तीन करोड ७२ लाख ६५ हजार ३५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलका अनुसार मौसममा देखिएको अस्थिरता तथा जलवायु परिवर्तनको प्रभावले चट्याङको जोखिम बढ्दै गएको छ।
मनसुन तथा प्रि–मनसुन अवधिमा अचानक मौसम परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको उहाँको भनाइ छ।
खुला स्थानमा बढी जोखिम
चट्याङबाट खेतबारीमा काम गर्ने किसान, पशु चराउने गोठाला, जंगलमा दाउरा लिन जाने तथा नदीकिनारमा रहेका मानिस बढी जोखिममा पर्ने गरेका छन्।
मौसम खराब हुने संकेत देखिएपछि तत्काल सुरक्षित स्थानमा जान, अग्ला रुखमुनि नबस्न तथा बिजुलीका पोल र अन्य अग्ला संरचनाबाट टाढा रहन विज्ञहरूले सुझाव दिएका छन्।
मौसमविद् पोख्रेलका अनुसार व्यक्तिगत सावधानीसँगै विद्यालय, स्थानीय तह र समुदायस्तरमा चट्याङबाट बच्ने उपायबारे नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्याउन सके मानवीय तथा भौतिक क्षति घटाउन सकिने उहाँको भनाइ छ।
वैज्ञानिक अभिलेखको अभाव
कोशी प्रदेशमा चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गर्ने ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ।
जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको गतिविधि मापन गर्न आवश्यक उपकरण पर्याप्त रूपमा जडान गरिएको छैन।
चट्याङको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीसँगै वैज्ञानिक अभिलेख र स्थानीयस्तरमा सचेतना विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्