काठमाडौँ । धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित नौ जनाविरुद्ध ३६ लाख १० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
मुद्दा दायर हुनेमा साविक सिंगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुरेश वैद्य, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदारबहादुर कार्की, धरान नगरपालिका–१४ का तत्कालीन वडा सचिव उत्तम आले, नरसिंह भगवान मन्दिरका तत्कालीन पुजारी टिरु चौधरी तथा स्थानीय जग्गा कारोबारी पंकज घिमिरे र भागमैन थरुनी छन् ।
आयोगका अनुसार उनीहरूले सुनसरीको रामधुनी नगरपालिका–२ अन्तर्गत साविक भादगाउँ सिनवारी गाविस–४ मा रहेको सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा कायम गरी भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिम ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरेको छ ।
आयोगले प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा
आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्रीसमेत गरिएको विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानबाट सार्वजनिक जग्गाको स्वामित्व परिवर्तनमा सरकारी कर्मचारी तथा अन्य व्यक्तिको संलग्नता रहेको निष्कर्ष निकालेपछि मुद्दा दायर गरिएको हो ।
अख्तियारले आरोप प्रमाणित भए कानुनबमोजिम कैद तथा जरिवाना हुनुपर्ने मागदाबी गरेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्