काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा उद्यमी गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन्। मन्त्री श्रेष्ठले बिहीबार कार्कीलाई सल्लाहकारमा नियुक्त गरेका हुन्।
कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष हुन्। विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका बढ्दै गएसँगै निजी क्षेत्रले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), विद्युत् व्यापारलगायतका विषयमा सरकारसँग विभिन्न माग राख्दै आएको छ।
निजी क्षेत्रले उठाउँदै आएका विषयलाई सरकारसम्म प्रभावकारी रूपमा पुर्याउन तथा ऊर्जा क्षेत्रमा सरकार र निजी क्षेत्रबीच सहकार्य थप मजबुत बनाउन कार्कीको नियुक्ति महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
निजी क्षेत्रसँग समन्वयमा जोड
निजी क्षेत्रका सक्रिय ऊर्जा उद्यमीलाई सल्लाहकारको जिम्मेवारी दिइएपछि सरकारसँगको समन्वय थप प्रभावकारी हुने निजी क्षेत्रको अपेक्षा छ।
कार्कीले ऊर्जा क्षेत्रमा निजी क्षेत्रका समस्या, अवसर र नीतिगत विषयमा मन्त्रीलाई सुझाव दिने तथा सरकार र ऊर्जा उद्यमीबीच समन्वयमा सहजीकरण गर्ने जिम्मेवारी पाउनेछन्।
नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी विस्तार भइरहेका बेला विद्युत् व्यापार, प्रसारण पूर्वाधार, पीपीए तथा लगानीमैत्री नीतिका विषयमा सरकारसँग सहकार्य बढाउने अवसरका रूपमा उनको नियुक्तिलाई हेरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्