काठमाडौं । लोकप्रिय नेपाली ब्यान्ड १९७४ एडीले करिब १५ वर्षपछि डेनमार्कमा पुनः सांगीतिक प्रस्तुति दिएको छ। ब्यान्डले यसअघि सन् २०११ मा डेनमार्कमा कन्सर्ट गरेको थियो।
डेढ दशकपछि डेनमार्कमा पुनः प्रस्तुति दिँदा पनि नेपाली भाषा र संगीतप्रति त्यहाँ रहेका नेपाली समुदायको प्रेम उस्तै रहेको ब्यान्डका म्यानेजर अनुज कार्कीले बताएका छन्।
‘२०११ मा कन्सर्ट गर्न आएको थिएँ। पहिले र अहिले धेरै परिवर्तन भए पनि नेपाली भाषा र कलाप्रतिको प्रेम भने अझै उस्तै रहेछ,’ कार्कीले भने।
डेनमार्कमा लामो समयपछि कन्सर्ट गर्दा दर्शकको उत्साह र नेपाली संगीतप्रतिको लगावले आफूहरूलाई थप उत्साहित बनाएको उनले बताए।
यसै क्रममा १९७४ एडीले पहिलोपटक फ्रान्समा समेत कन्सर्ट गरेको ब्यान्ड सदस्य मनोज सिंहले जानकारी दिए। युरोप भ्रमणका क्रममा नयाँ सहर र देशका नेपाली दर्शकमाझ आफ्नो संगीत प्रस्तुत गर्न पाउनु ब्यान्डका लागि विशेष अवसर भएको उनले बताए।
ब्यान्डका संस्थापक निराकार याक्थुम्बाले विदेशमा रहेका नेपाली समुदायलाई संगीतका माध्यमबाट विभिन्न सहरमा जोड्दै आफ्ना गीत प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए।
उनका अनुसार संगीतले भौगोलिक दूरी घटाउँदै विदेशमा रहेका नेपालीलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्ने काम गरिरहेको छ।
**‘आइ पपर्सु’**को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिइरहेको छ। युरोप भ्रमणका क्रममा ब्यान्डले नेपाली गीत–संगीतलाई नेपाली समुदायमाझ पुर्याउनुका साथै स्थानीय दर्शकमाझ समेत आफ्नो संगीत प्रस्तुत गरिरहेको छ।
हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह आबद्ध छन्।
विदेशमा नेपाली समुदायको संख्या बढ्दै गएसँगै नेपाली कलाकार तथा ब्यान्डका अन्तर्राष्ट्रिय सांगीतिक भ्रमण पनि विस्तार भइरहेका छन्। १९७४ एडीको पछिल्लो युरोप भ्रमणले नेपाली संगीतलाई प्रवासी नेपाली समुदायसँग जोड्ने क्रमलाई थप निरन्तरता दिएको छ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्