काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा जाने भएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक झापा जान लागेका हुन्।
ओली यसपटक झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए। निर्वाचन प्रचारप्रसारका क्रममा उनी लामो समय आफ्नो निर्वाचन क्षेत्रमा बसेका थिए। तर, उनको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेकाले मतदान गर्न उनी फागुन १८ गते काठमाडौं फर्किएका थिए।
निर्वाचनमा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)सँग पराजित भएका थिए। शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत पाएका थिए। शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका थिए।
यो परिणाम ओलीका लागि झापा–५ मा विशेष राजनीतिक धक्का मानिएको थियो। लामो समयदेखि एमालेको प्रभाव रहेको निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई नयाँ राजनीतिक शक्तिका प्रमुख नेता बालेनले ठूलो मतान्तरले पराजित गरेपछि झापा–५ को निर्वाचन परिणाम राष्ट्रिय राजनीतिमा समेत चर्चाको विषय बनेको थियो। (
निर्वाचनपछि ओलीको राजनीतिक यात्रा अर्को जटिल चरणमा प्रवेश गरेको छ। भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी अनुसन्धान गर्न सिफारिस गरेपछि ओलीलाई पक्राउ गर्न प्रहरी उनको भक्तपुरको गुण्डुस्थित निवासमा पुगेको थियो। त्यसक्रममा चैत १४ गते बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। (
यस्तो पृष्ठभूमिमा ओलीको झापा भ्रमणलाई एमालेभित्र र बाहिर राजनीतिक रूपमा चासोका साथ हेरिएको छ। चुनावी पराजय, त्यसपछिको कानुनी घटनाक्रम र पार्टी अध्यक्षका रूपमा आगामी रणनीतिबारे ओलीले झापामा के सन्देश दिन्छन् भन्ने विषय महत्वपूर्ण हुने देखिएको छ।
ओलीको सचिवालय प्रमुख निरुदेवी पालका अनुसार उनी शनिबार बिहान पहिलो उडानबाट झापा जाने कार्यक्रम छ। उनका अनुसार निर्वाचनपछि यो ओलीको पहिलो गृहजिल्ला भ्रमण हो।
झापा ओलीको लामो राजनीतिक आधार क्षेत्रसमेत हो। त्यसैले यसपटकको भ्रमणलाई सामान्य गृहजिल्ला यात्राभन्दा पनि निर्वाचनपछिको राजनीतिक पुनरागमन, पार्टी कार्यकर्तासँगको सम्बन्ध र आगामी रणनीति निर्माणको दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्