काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता पद्मनारायण चौधरीले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै चौधरीले कांग्रेसलाई एकताबद्ध बनाउन अझै समय बाँकी रहेको भन्दै त्यसको सदुपयोग गर्न नेतृत्व र कार्यकर्तालाई अपिल गरे।
उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबै पक्षले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए। विशेषगरी सभापति शेरबहादुर देउवाले कांग्रेसभित्रको आन्तरिक किचलो अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।
“नेपाली कांग्रेसभित्र ठूलो आन्तरिक समस्या छ। यसलाई सुल्झाउन उहाँले भूमिका खेल्नुहुनेमा म विश्वस्त छु,” चौधरीले भने।
विशेष महाधिवेशनप्रति असन्तुष्टि
चौधरीले विशेष महाधिवेशन पार्टीका लागि फलदायी हुन नसक्ने आफ्नो पुरानो धारणा सही साबित भएको दाबी गरे। विशेष महाधिवेशनले पार्टीभित्र थप तिक्तता र विभाजनको अवस्था सिर्जना गर्ने खतरा आफूले पहिल्यै औँल्याएको उनले स्मरण गरे।
“विशेष अधिवेशन हुनेबित्तिकै पार्टीभित्र केही न केही तिक्तता आउँछ। र, त्यो तिक्तता संसदीय निर्वाचन अगाडि रिफ्लेक्ट हुन्छ । मैले भनिसकेको थिएँ,” उनले भने।
उनका अनुसार नियमित र विशेष दुवै महाधिवेशनको प्रक्रियाबाट उत्पन्न राजनीतिक परिस्थितिले कांग्रेसभित्र विभाजनको अवस्था सिर्जना गरेको छ।
‘विवादभन्दा एकता आवश्यक’
चौधरीले पार्टीभित्रको आन्तरिक विवादलाई थप चर्काउनेभन्दा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने बताए। कांग्रेसको संगठन, राजनीतिक प्रभाव र आगामी निर्वाचनको तयारीलाई ध्यानमा राख्दै सबै पक्ष एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
उनले पार्टी एकताका लागि नेतृत्वदेखि कार्यकर्तासम्म सबैले आ–आफ्नो भूमिका र जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिए।
चौधरीको अभिव्यक्ति कांग्रेसभित्र विशेष महाधिवेशनपछि बढेको नेतृत्वसम्बन्धी विवाद र संस्थापन तथा संस्थापनइतर समूहबीचको दूरी घटाउनुपर्ने बहस चलिरहेका बेला आएको हो। उनले सभापति देउवाबाट विवाद समाधानमा पहल हुने अपेक्षा व्यक्त गर्दै कांग्रेसलाई विभाजनबाट जोगाउने अवसर अझै बाँकी रहेको सन्देश दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्