काठमाडौं । अविरल वर्षाका कारण आज (साउन ३० गते) देशका ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। केही साना तथा ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, जाजरकोट, बझाङ, दार्चुला, बाजुरा, मुगु, बैतडी, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
ठूला नदीमा पनि बहाव बढ्ने सम्भावना
महाशाखाका अनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ। यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा समेत पानीको बहाव बढ्ने सम्भावना छ।
आज बिहान गरिएको मापनअनुसार भने यी प्रमुख नदी तथा सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
वर्षा निरन्तर भइरहेकाले नदी तथा खोलानजिक बसोबास गर्ने र यात्रा गर्नेहरूलाई स्थानीय अवस्थाबारे जानकारी लिएर सतर्क रहन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्