पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने मोदी खोलामा एक महिनामै तेस्रोपटक ठूलो बाढी आएको छ। बुधबार रातिदेखि परेको अविरल वर्षापछि खोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–६ मा दुईवटा पुल र एउटा मन्दिर बगाएको छ।
प्रशासनसँगको विवरणअनुसार पछिल्लो ३० वर्षमा मोदी खोलामा यसपटकजस्तो ठूलो विपद् आएको रेकर्ड छैन। मनसुन सुरु भएयता असारदेखि साउन २९ गतेसम्म मोदी खोलामा छ पटकभन्दा बढी बाढी आइसकेको छ।
बारम्बारको बाढीले पर्यटकीय क्षेत्र वीरेठाँटीमा ठूलो क्षति पुर्याएको छ। घान्द्रुक जाने मुख्य मार्गसमेत जोखिममा परेपछि वीरेठाँटीको अस्तित्वमै चुनौती देखिएको छ।
वडा नम्बर ५ र ६ को सीमामा पर्ने मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिर पनि बाढीले बगाएको छ। नयाँ पुल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश अधिकारीका अनुसार मन्दिर आसपासका दुईवटा पुलसमेत बगेका छन्।
तीन जनाको उद्धार
पर्वत र कास्की जोड्ने तथा मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएको बेलीब्रिज बाढीले बगाएपछि मन्दिर परिसरमा तीन जना फसेका थिए।
खोलाको बीचमा रहेको ढिस्कोमा मन्दिर रहेकाले पुजारीसहित तीन जना बाढीका कारण अलपत्र परेका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकामा भारतको हिमाचल प्रदेशका ४८ वर्षीय निरमाया गिरी, पोखरा–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल र सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह छन्।
गिरी विगत आठ वर्षदेखि उक्त स्थानमा पूजा गर्दै आएका थिए।
मोदी खोला र सेती नदीको अध्ययन गरिने
मोदी खोलामा पटकपटक आएको बाढीपछि मोदी खोला र सेती नदीको अध्ययन गर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले खोलामा बाढीको जोखिम बढ्नुका कारण तथा माथिल्लो क्षेत्रमा भइरहेको परिवर्तनबारे अध्ययन गर्ने निर्णय गरेको हो।
समितिका सदस्यहरूले यसपटक अनुमानभन्दा फरक ढंगले बाढी आएको भन्दै जोखिमको गम्भीर अध्ययन आवश्यक रहेको बताएका छन्। खोलाको माथिल्लो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा अध्ययन गर्न संघ र प्रदेश सरकारसँग समेत अनुरोध गरिएको छ।
आपत्कालीन संयन्त्रबीच समन्वय बढाइने
बैठकले जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीओसी) र स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एलओसी) बीचको समन्वयलाई थप प्रभावकारी र सशक्त बनाउने निर्णयसमेत गरेको छ।
लगातारको बाढीले वीरेठाँटी क्षेत्रमा सडक, पुल तथा धार्मिक संरचनामा क्षति पुर्याएपछि स्थानीय प्रशासनले थप जोखिम न्यूनीकरणका लागि अध्ययन र समन्वयलाई प्राथमिकता दिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्