त्रिशूली, नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
दुप्चेश्वर महादेव दर्शनका लागि तीर्थयात्री बोकेर काठमाडौंँबाट नुवाकोटतर्फ आएको बस दुर्घटनामा परेको हो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएपछि उनीहरूमध्ये पनि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको थियो।
त्यसैगरी उपचारका लागि काठमाडौं पठाइएका सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठको पनि मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीका अनुसार घाइतेहरूलाई उद्धार गरी काठमाडौं पठाइएको थियो। उपचारका क्रममा तीन जनाको मृत्यु भएको अस्पतालबाट जानकारी आएको उनले बताए।
प्रहरीका अनुसार दुर्घटनामा परेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस दुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर काठमाडौंँबाट आएको थियो। थानाभञ्ज्याङमा चालक र यात्रुहरू खाजा खान ओर्लिएका बेला बस आफैँ गुडेर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालका अनुसार सडक छेउमा रोकिराखिएको बस आफैँ गुडेर अगाडि पार्किङ गरिएको बा.प्र.०३–००१ ज ११७६ नम्बरको ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र भ्यान दुवै सडकबाट करिब ५० मिटर तल खसेका थिए।
दुर्घटनापछि बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्