तनहुँ, साउन ३० गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गृह जिल्ला भ्रमणका क्रममा शुक्रबार तनहुँको आँबुखैरेनीमा आयोजित कार्यक्रममा स्थानीयवासीले उद्योग सञ्चालनको माग गरेपछि अर्थमन्त्री वाग्लेले सरकारले बन्द सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको स्पष्ट पार्दै गोरखकाली रबर उद्योगलाई पनि सञ्चालनमा ल्याउने बताउनुभएको हो।
उहाँका अनुसार सुरुमा सरकारले नै उद्योग सञ्चालनको परीक्षण गर्नेछ। उद्योग सञ्चालन गर्न सकिने र नाफामा लैजान सकिने अवस्था देखिएपछि दीर्घकालीन व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति सरकारले लिएको छ।
“सरकारले बन्द उद्योग सञ्चालन गर्ने नीति लिएको छ। सुरुमा सरकार आफैँले परीक्षणका रूपमा सञ्चालन गर्छौँ, उद्योग सञ्चालन गर्न सकिने र नाफामा लैजान सकिने अवस्था देखिएपछि निजी क्षेत्रलाई जिम्मेवारी दिनेछौँ।”
विगतमा सरकारी स्वामित्वका उद्योग सरकारकै व्यवस्थापनमा सञ्चालन गर्दा घाटामा गएको अनुभवबाट पाठ सिकेर यसपटक फरक ढाँचाबाट उद्योग सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।
उत्पादन र रोजगारी बढाउने लक्ष्य
स्वदेशी उत्पादन बढाउने, आयातमा निर्भरता घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले बन्द सरकारी उद्योग सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
स्थानीयवासीले हेटौँडा कपडा उद्योगसँगै गोरखकाली रबर उद्योगलाई पनि प्राथमिकतामा राखेर पुनः सञ्चालन गर्न आग्रह गरेका थिए। उद्योग सञ्चालन भएपछि स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने मागसमेत उनीहरूले राखेका छन्।
चीनको सहयोगमा स्थापना भएको उद्योग
गोरखाको गोरखा नगरपालिका–१३ मझुवामा रहेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको हो। उद्योग २०४१ साल जेठ ३० गते दर्ता भएको थियो भने २०४२ सालमा शिलान्यास गरिएको थियो।
२०५० को दशकदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले एक समय स्वदेशी बजारमा टायर तथा ट्युबको ठूलो हिस्सा आपूर्ति गर्दै आएको थियो।
करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगको वार्षिक करिब ८८ हजार टायर उत्पादन गर्न सक्ने क्षमता थियो। ट्रक, जीप, भ्यान र कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको उद्योगका उत्पादन देशका प्रमुख सहरमा रहेका डिपोमार्फत बिक्री हुँदै आएका थिए।
उद्योगले उत्पादन गरेका टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा समेत निर्यात गरेको थियो।
ठूलो संरचना प्रयोगविहीन
राजनीतिक हस्तक्षेप, व्यवस्थापनको कमजोरी तथा कच्चा पदार्थको अभावलगायत कारण उद्योग सञ्चालनमा समस्या आएको बताइन्छ। लामो समयदेखि बन्द हुँदा उद्योगका मेसिनरी र भौतिक संरचना प्रयोगविहीन बनेका छन् भने राज्यको ठूलो लगानीसमेत निष्क्रिय अवस्थामा छ।
सरकारले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीति अघि बढाएसँगै गोरखकाली रबर उद्योग पनि सञ्चालनमा आउने आशा स्थानीयवासीमा बढेको छ। उद्योग पुनः सञ्चालन भएपछि उत्पादनसँगै स्थानीय रोजगारी र आसपासको आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्