सुर्खेत । अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। विपद्का घटनामा परी सात जना घाइते भएका छन्।
भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी स्थानीय केदार कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा गम्भीर घाइते भएका कार्कीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
पहिरोमा परी भेरी नगरपालिका–२ फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्कीसहित तीन जना बेपत्ता भएका छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
सात जना घाइते
बाढी तथा पहिरोमा परी सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
बस्तीहरू जोखिममा
अविरल वर्षाका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नम्बर ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी क्षेत्र जोखिममा परेका छन्।
त्यस्तै, वडा नम्बर १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्ती पनि बाढी तथा पहिरोको उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ।
खोज तथा उद्धार जारी
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार आइतबार बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। बेपत्ता भएकाहरूको खोजी, घाइतेको उपचार तथा जोखिममा रहेका बस्तीको अवस्थाबारे जानकारी संकलनका लागि सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर जानकारी लिने काम भइरहेको बताउँदै जोखिममा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्