काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँसहित २८ जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा ती नदीका सहायक नदीहरूमा पानीको बहाव अहिले सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि हाल सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।
तर आगामी २४ घण्टामा ती नदी तथा खोलाको पानीको सतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्नेछ।
ती जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालनजिक रहेकाले तथा केही क्षेत्रमा धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोला आसपासका बस्ती र तल्लो तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले बाढीसम्बन्धी सूचना तथा चेतावनीलाई ध्यान दिई जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्