काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक कटान हुँदा आज पनि सडक यातायात प्रभावित भएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ। सो सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले सो स्थानमा वैकल्पिक सडक रहेको जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ।
अन्य क्षेत्रमा पनि यातायात ठप्प
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिएपछि कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात ठप्प भएको छ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक अवरुद्ध भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो खस्दा बेनी–जोमसोम सडक पनि प्रभावित भएको प्रहरीले जनाएको छ।
त्यस्तै, रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खस्दा भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यात्रा गर्दा सावधानी अपनाउन आग्रह
निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले प्रहरी प्रधान कार्यालयले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आग्रह गरेको छ।
प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्थामा आवश्यक सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्