काठमाडौं । नेपालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएका पटक–पटकका परकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “हामी इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प तथा त्यसपछि आएका पटक–पटकका परकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ।”
प्राकृतिक विपद्को विनाशकारी प्रभाव भोगिसकेको नेपालले यस्ता विपद्बाट उत्पन्न पीडा र दुःखलाई राम्रोसँग बुझेको पनि मन्त्रालयले जनाएको छ।
नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्दै मन्त्रालयले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
मन्त्रालयले भूकम्पमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, राहत र शीघ्र पुनःस्थापनाको कामना गरेको छ।
फ्लोरेस द्वीपमा ७.७ म्याग्निच्युडको भूकम्पपछि लगातार परकम्प आएका थिए। भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्