बनेपा । राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले आकस्मिक अवस्थामा बिरामीलाई सुरक्षित र प्रभावकारी उपचारसहित अस्पताल पुर्याउन एम्बुलेन्समा जीपीएस, तालिमप्राप्त चालक, आकस्मिक चिकित्सकीय प्राविधिक (पारामेडिक्स) तथा आवश्यक प्राथमिक उपचार सामग्री अनिवार्य गरेको छ। तर काभ्रेपलाञ्चोकमा सञ्चालन भइरहेका अधिकांश एम्बुलेन्सले यी मापदण्ड पूरा नगरेको पाइएको छ।
जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अनुसार जिल्लामा सञ्चालित तीन दर्जनभन्दा बढी एम्बुलेन्समध्ये धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालबाहेक अधिकांशले राष्ट्रिय निर्देशिकाले तोकेको मापदण्ड पूर्ण रूपमा पालना गरेका छैनन्।
काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका ३६ एम्बुलेन्समध्ये ३५ वटा धुलिखेल अस्पतालस्थित एम्बुलेन्स डिस्प्याच सेन्टरमार्फत आबद्ध छन्। यी एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरिएको भए पनि तालिमप्राप्त चालक, पारामेडिक्स र आवश्यक आकस्मिक उपचार सामग्रीको पर्याप्त व्यवस्था हुन नसकेको समितिले जनाएको छ।
धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठका अनुसार अधिकांश एम्बुलेन्स अहिले पनि बिरामीलाई एक स्थानबाट अर्को स्थानसम्म पुर्याउने साधनका रूपमा मात्र प्रयोग भइरहेका छन्। उनका अनुसार एम्बुलेन्समा पारामेडिक्स नहुँदा दुर्घटना वा अन्य आकस्मिक घटनाका बिरामीलाई अस्पताल ल्याउने क्रममा आवश्यक प्राथमिक उपचार दिन कठिन हुन्छ।
“काभ्रेपलाञ्चोकमा सञ्चालित एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरिएको छ। केहीमा अक्सिजन र प्राथमिक उपचारका सामग्री पनि छन् र चालकलाई तालिम दिइएको छ,” डा. श्रेष्ठले भन्नुभयो, “तर अधिकांशमा पारामेडिक्स, आवश्यक प्राथमिक उपचार सामग्री र पर्याप्त तालिमप्राप्त चालक छैनन्। त्यसैले ती एम्बुलेन्स बिरामी बोक्ने ‘प्यासेन्ट ट्रान्सफरिङ भेहिकल’ का रूपमा मात्र चलिरहेका छन्।”
उहाँका अनुसार एम्बुलेन्समा आकस्मिक चिकित्सकीय प्राविधिक भएमा घटनास्थलमै बिरामीको अवस्था मूल्याङ्कन गरी आवश्यक प्राथमिक उपचार गर्न सकिन्छ। गम्भीर बिरामी वा दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल पुर्याउने क्रममा जीवनरक्षा गर्ने उपचार उपलब्ध गराउन सकिने भएकाले एम्बुलेन्समा पारामेडिक्सको भूमिका महत्वपूर्ण हुन्छ।
“एम्बुलेन्समा आकस्मिक चिकित्सकीय प्राविधिक रहेमा घटनास्थलबाट अस्पताल ल्याउँदा आवश्यक प्राथमिक उपचार गर्न सकिन्छ, जसले नागरिकको ज्यान जोगाउन मद्दत गर्छ,” डा. श्रेष्ठले भन्नुभयो, “तर प्राविधिक नहुँदा सामान्य देखिने समस्याका कारण पनि बिरामीको अवस्था बिग्रने र ज्यान जाने जोखिम हुन्छ।”
काभ्रेका विभिन्न स्थानीय तह, सामाजिक संस्था तथा क्लबले सञ्चालन गरेका एम्बुलेन्समा समेत निर्देशिकाले तोकेका आकस्मिक चिकित्सकीय प्राविधिक र प्राथमिक उपचारका सामग्री पर्याप्त नभएको पाइएको छ। कतिपय अवस्थामा चालकले घटनास्थलबाटै बिरामीको अवस्थाबारे अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फोनमार्फत जानकारी गराउने र चिकित्सकको सुझावअनुसार बिरामीलाई अस्पताल ल्याउने गरेका छन्।
धुलिखेल अस्पतालले भने आफ्ना एम्बुलेन्स सेवाका लागि आकस्मिक चिकित्सकीय प्राविधिकको तालिम लिएका छ जना पारामेडिक्स राखेको जनाएको छ।
धुलिखेल अस्पतालको एम्बुलेन्स डिस्प्याच सेन्टरअन्तर्गत चौरीदेउरालीका आठ, बनेपाका छ, पनौती, रोसी र बेथानचोकका तीन–तीन, भुम्लु, खानीखोला, मण्डनदेउपुर, पाँचखाल र धुलिखेल अस्पतालका दुई–दुई तथा महाभारत र तेमाल गाउँपालिकाका एक–एक एम्बुलेन्स सञ्चालनमा छन्।
जिल्लामा एम्बुलेन्सको संख्या पर्याप्त भए पनि सेवा गुणस्तरीय बनाउन मापदण्ड कार्यान्वयनमा जोड दिनुपर्ने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको भनाइ छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा दुर्घटना, प्रसूति, हृदयाघात, स्ट्रोकलगायत आकस्मिक अवस्थाका बिरामीलाई अस्पतालसम्म पुर्याउने क्रममा एम्बुलेन्समा उपलब्ध हुने प्राथमिक उपचारले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
यसैबीच, मापदण्ड पालना नगरेका एम्बुलेन्सलाई सुधारका लागि जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिले एक महिनाको समय दिएको छ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी मापदण्ड पूरा नभएको गुनासो आएपछि सञ्चालकलाई आवश्यक सुधार गर्न निर्देशन दिइएको बताउनुभयो।
“मापदण्ड पूरा गर्न एक महिनाको समयसीमा दिइएको छ र प्रहरी परिचालन गरी अनुगमन गरिनेछ,” अधिकारीले भन्नुभयो। तोकिएको समयभित्र मापदण्ड पूरा नगर्ने एम्बुलेन्स सञ्चालकमाथि कानुनबमोजिम कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।
जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका अनुसार काभ्रेपलाञ्चोकमा हाल ३६ वटा एम्बुलेन्स सञ्चालनमा छन्। तीमध्ये ३५ वटा धुलिखेल अस्पतालको डिस्प्याच सेन्टरमार्फत सञ्चालन भइरहेका छन् भने एउटा निजी क्षेत्रबाट सञ्चालनमा छ।
जिल्लाको भौगोलिक अवस्था र जनसंख्यालाई हेर्दा एम्बुलेन्सको संख्या पर्याप्त देखिए पनि संख्या मात्रले आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी नहुनेस्वास्थ्यकर्मीहरूको भनाइ छ। एम्बुलेन्समा आवश्यक उपकरण, तालिमप्राप्त चालक र पारामेडिक्सको सुनिश्चितता नभए ती साधन आकस्मिक उपचार सेवाभन्दा बिरामी ओसारपसार गर्ने गाडीमा सीमित हुने जोखिम रहन्छ।
त्यसैले काभ्रेपलाञ्चोकमा अब एम्बुलेन्सको संख्या थप्नेभन्दा पनि सञ्चालनमा रहेका एम्बुलेन्सलाई राष्ट्रिय मापदण्डअनुसार प्रशिक्षित जनशक्ति, प्राथमिक उपचार सामग्री, अक्सिजन, जीपीएस तथा आकस्मिक सेवा प्रणालीसँग जोडेर गुणस्तरीय बनाउने चुनौती देखिएको छ। जिल्ला प्रशासनले दिएको एक महिनाको समयसीमापछि हुने अनुगमन र सम्भावित कारबाहीले मापदण्ड कार्यान्वयन कति प्रभावकारी हुन्छ भन्ने निर्धारण गर्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्