धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
आइतबार आन्तरिक मामिला मन्त्रालयका सचिव तेजप्रकाश जोशीसँग प्रदेशको विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनबारे जानकारी लिँदै मुख्यमन्त्री भट्टले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीलाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
उनले विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा र अन्य स्रोत–साधनको व्यवस्थापन चुस्त राख्न आग्रह गरे।
सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन र सूचना सङ्कलन गर्दै पूर्वसूचना प्राप्त हुनेबित्तिकै सम्बन्धित निकाय सक्रिय हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका छन्।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच स्पष्ट भूमिका र प्रभावकारी समन्वय आवश्यक रहेको बताए। विपद्का समयमा कुनै पनि निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई सक्रिय भूमिका निर्वाह गर्न उनले निर्देशन दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्