काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलनले पार्टीको १५औँ महाधिवेशन, संविधान संशोधन, सनातन धर्म तथा राष्ट्रिय एकतासहित पाँच वटा प्रस्ताव पारित गरेको छ ।
साउन २९ देखि ३१ गतेसम्म सम्पन्न सम्मेलनले पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १५औँ महाधिवेशनको तयारी तथा समन्वय गर्ने निर्णय गरेको छ ।
सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । देउवाकै सभापतित्वमा महाधिवेशन सम्पन्न गरी पार्टीलाई एकताबद्ध बनाउने प्रस्तावमा उल्लेख छ ।
महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्ने निर्णय पनि गरिएको छ ।
राष्ट्रिय एकता र लोकतन्त्रमा जोड
सम्मेलनले राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गर्दै अघि बढ्ने निर्णय गरेको छ ।
प्रस्तावमा २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकटका बेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएको प्रसंग उल्लेख गर्दै अहिले पनि देश अप्ठ्यारो परिस्थितिमा रहेको निष्कर्ष निकालिएको छ ।
सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने प्रस्ताव
सम्मेलनले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
प्रस्तावमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने उल्लेख छ । साथै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
संविधान संशोधनमा संवाद
सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधनका लागि सम्बन्धित पक्षसँग संवाद गरी निष्कर्षमा पुग्ने निर्णय गरेको छ । संविधानमा व्यवस्था भएअनुसार नै संशोधन प्रक्रिया अघि बढाउने प्रस्तावमा उल्लेख छ ।
यससँगै सम्मेलनले प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा रहेको समितिलाई दिएको छ ।
समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगीका रूपमा रहेका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्