काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीभित्र गुटगत गतिविधि बढेको छ । देउवा नियमित महाधिवेशनको पक्षमा देखिएका छन् भने सभापति गगन थापा नेतृत्वको समूहले यसअघि विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिसकेको छ । दुवै पक्षले अब नियमित महाधिवेशन गर्नुपर्नेमा सहमति जनाए पनि नेतृत्व र वैधानिकतासम्बन्धी विवाद कायमै छ ।
जेन–जी आन्दोलनपछि देउवा दम्पती विदेशमा रहेर उपचार तथा स्वास्थ्य परीक्षण गराउँदै आएका थिए । चुनावी प्रक्रिया र पार्टीभित्रको नेतृत्व विवादका बीच उनीहरू सिंगापुर र हङकङसमेत पुगेका थिए ।
देउवा स्वदेश फर्किएपछि कांग्रेसभित्र उनको सक्रियता बढेको छ । उनले नियमित महाधिवेशनको मागसहित पार्टीका विभिन्न कार्यक्रममा सम्बोधन गर्न थालेका छन् । यसले विशेष महाधिवेशनमार्फत गगन थापा नेतृत्वमा पुगेको कार्यसमितिको वैधानिकता र आगामी महाधिवेशनको प्रक्रियाबारे विवादलाई थप चर्काएको छ ।
पक्राउ पुर्जी र ‘रेड नोटिस’ विवाद
विदेशमा रहेका बेला देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी कार्यान्वयनमा सर्वोच्च अदालतले प्रक्रिया पूरा नभएको भन्दै रोक लगाएको थियो ।
पछि नेपाल प्रहरीले देउवा दम्पतीविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्न अनुरोध गरे पनि आवश्यक विवरण नपुगेको भन्दै तत्काल प्रक्रिया अघि बढ्न सकेन । प्रहरीले थप विवरणसहित पुनः पत्राचार गरेको थियो ।
यसैबीच सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाए पनि पछिल्लो समय यो विषयमा खासै प्रगति देखिएको छैन । अनुसन्धानको प्रक्रिया र त्यसमा संलग्न निकायका अधिकारीको जिम्मेवारी परिवर्तनले समेत राजनीतिक बहस जन्माएको छ ।
विदेश बसाइबारे प्रश्न
देउवा दम्पती लामो समय सिंगापुर र हङकङमा रहँदा भएको खर्च, विदेशी मुद्रा र त्यहाँको बसाइबारे पनि प्रश्न उठाइएको छ । तर राज्यका निकायले यस विषयमा स्पष्ट अनुसन्धान वा जानकारी सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेको छ ।
ओली र रमेश लेखक पक्राउ तथा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने सरकारी कदमलाई कतिपयले राजनीतिक लोकप्रियताका लागि गरिएको कारबाहीका रूपमा समेत व्याख्या गरेका छन् ।
विशेष महाधिवेशनमाथि पुनः बहस
सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दालाई प्रारम्भिक चरणबाटै सुनुवाइ गर्ने गरी निस्सा दिएपछि देउवा र पूर्णबहादुर खड्का निकट समूह उत्साहित भएको छ ।
यससँगै गगन थापा नेतृत्वमा भएको विशेष महाधिवेशनको निर्णयमाथि पुनः न्यायिक समीक्षा हुन सक्ने सम्भावना बढेको छ । देउवाको सक्रियतासँगै कांग्रेसभित्र दुई समूहबीचको दूरी पनि स्पष्ट देखिन थालेको छ ।
दुवै पक्षले पार्टी एकता र नियमित महाधिवेशनको आवश्यकता औँल्याए पनि नेतृत्वको वैधानिकता र संगठन सञ्चालनको अधिकारबारे विवाद तत्काल समाधान हुने अवस्था देखिएको छैन ।
निर्वाचन आयोगको निर्णय
निर्वाचन आयोगले माघ २ गते कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको थियो ।
दलसम्बन्धी ऐनको दफा ५१ तथा कांग्रेस विधानमा रहेको व्यवस्थाअनुसार केन्द्रीय समितिले आवश्यक संख्यामा सदस्यको मागअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने आयोगको निष्कर्ष थियो । केन्द्रीय समितिले माग बेवास्ता गरेपछि थापा पक्षले आयोजना गरेको विशेष महाधिवेशनलाई आयोगले प्रक्रियासम्मत मानेको थियो ।
आयोगले कांग्रेसको विधानमा लोकतान्त्रिक मूल्य र अभ्यासलाई प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा पनि लागू गर्नुपर्ने बताएको थियो ।
विशेष महाधिवेशनपछि निर्वाचन आयोगले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको विवरण हटाएर गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको थियो । सर्वोच्च अदालतको पछिल्लो प्रक्रियासँगै भने आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः राजनीतिक तथा कानुनी बहस सुरु भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्