जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा घर तथा टहरा भत्काउँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।
हिजो दिउँसो करिब ४ बजेदेखि परेको लगातारको वर्षापछि रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली परिचालन गरिएको छ ।
पहिरोपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
१० जना घाइते
पहिरोमा परी रिसाङका ६० वर्षीय रामबहादुर शाही घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ भने जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । चिसापानीकी ५७ वर्षीया भद्राकली कार्कीलाई शरीरका विभिन्न भागमा चोट लागेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।
डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ । सोही ठाउँकी १६ वर्षीया मनिषा विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
४७ वर्षीया मोतीकला विकको हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ५२ वर्षीय केदार कार्कीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
२३ वर्षीया अनिता कार्कीको बायाँ खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । रिसाङकी लक्ष्मी केसीका १० वर्षीय छोरा युनिश शाहीलाई सामान्य चोट लागेको छ । उनको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, ४५ वर्षीया सुन्तली चदराको खुट्टामा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
घर तथा टहरामा क्षति
पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
सोही स्थानका भैरवी केसीका दुई वटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएका छन् । ती टहरामा भने हाल मानिस बसोबास नगरेको जनाइएको छ ।
लगातारको वर्षाका कारण पहिरोको जोखिम कायमै रहेकाले उद्धार टोलीले खोज तथा उद्धारको काम जारी राखेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्