काठमाडौँ । आगामी भदौ १८ गते आयोजना हुने २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी तीव्र पारिएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पिपुल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको हो।
पिपुल्स च्वाइस विधामा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट मनोनयनमा परेका छन्।
यस विधाको विजेता खेल पत्रकार, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक तथा डिजिटल वालेट खल्तीमा प्राप्त मतका आधारमा चयन हुने मञ्चले जनाएको छ। कुल मतभारमध्ये खल्तीको ५० प्रतिशत तथा फेसबुक, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मतको ५० प्रतिशत हिस्सा रहनेछ।
भोटिङका लागि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेज प्रयोग गर्नुपर्नेछ। पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। गत वर्ष यो अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए।
नौ विधामा अवार्ड
यस वर्षको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नौ विधामा पुरस्कार प्रदान गरिनेछ। वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसिया स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहेका छन्।
पिपुल्स च्वाइस बाहेक वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकका विजेताले पनि पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ।
यसै अवसरमा मञ्चले अवार्डको भोटिङ पार्टनर खल्ती बाई आईएमईसँग सम्झौता नवीकरण गरेको छ। अवार्ड भदौ १८ गते आयोजना हुनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्