सुर्खेत । आफूलाई ‘पाथीभरा माता’ भन्दै झारफुक गर्ने सुर्खेतका एक युवकलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय समीर थापामाथि झारफुकका नाममा एक महिलामाथि अमानवीय व्यवहार तथा कुटपिट गरेको आरोप छ। घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई पक्राउ गरेको थियो। थापा साउन १३ गते पक्राउ परेका थिए।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।
थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा साउन ८ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको थियो।
सामाजिक सञ्जालको भिडियोपछि अनुसन्धान
झारफुकका नाममा महिलामाथि गरिएको व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भएको थियो। भिडियोमा महिलामाथि अमानवीय तथा हिंसात्मक व्यवहार गरिएको देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्तका रूपमा रहेका थापालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। घटनामा सहयोगीको भूमिका रहेको आरोप लागेका भिडियो खिच्ने व्यक्तिलाई भने धरौटीमा छाड्ने आदेश भएको छ।
झारफुकका नाममा हिंसा गर्न कानुनले रोक
मुलुकी अपराध संहिता, २०७४ मा धामी–झाँक्री, झारफुक वा यस्तै कुनै बहानामा व्यक्तिमाथि अमानवीय वा अपमानजनक व्यवहार गर्न निषेध गरिएको छ।
संहिताको दफा १६८ अनुसार यस्तो कसुर गरेको ठहर भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। पीडितलाई कसुरदारबाट मनासिब क्षतिपूर्तिसमेत भराउन सकिने कानुनी प्रावधान रहेको छ।
झारफुकका क्रममा कुटपिट, हातपात, गालीगलौज वा अन्य हिंसात्मक व्यवहार भएको अवस्थामा सम्बन्धित अन्य कसुरअन्तर्गत समेत थप कानुनी कारबाही हुन सक्ने व्यवस्था छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्