चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघको आक्रमणबाट एक स्थानीयवासी घाइते भएका छन्। आक्रमणपछि निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिएको छ।
राप्ती नगरपालिका–१ डिपाट बस्तीमा आइतबार बिहान करिब पौने ७ बजे बाघले ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको हो। आक्रमणबाट अधिकारीको तिघ्रामा सामान्य चोट लागेको छ। उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
सोही बाघले स्थानीय दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको निकुञ्जले जनाएको छ।
बाघ बस्तीमा प्रवेश गरेपछि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन गरी खोजी गरिएको थियो। खोजीका क्रममा बिहान ११ः२७ बजे डार्ट गरी बाघलाई नियन्त्रणमा लिइएको निकुञ्ज प्रशासनले जनाएको छ।
आक्रमणमा घाइते अधिकारीको अवस्था सामान्य रहेको बताइएको छ। गाईलाई पनि सामान्य चोट लागेको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्