काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेले संस्थालाई नयाँ सोच, कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने बताएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा १८८ मत प्राप्त गरी निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले नेतृत्व पाउनु आफ्नो लागि ठूलो परीक्षा र अवसर दुवै भएको बताए ।
‘निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ । मेरो लागि यो सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो अवसर पनि आएको छ,’ उनले भने ।
पाण्डेका अनुसार यसपटकको निर्वाचन अभियान विगतका निर्वाचनभन्दा फरक रह्यो । ठूलो भोजभतेर, अनावश्यक भीडभाड र शक्ति प्रदर्शनभन्दा साथीभाइसँगको छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेन्डा मतदातासमक्ष पुर्याइएको उनले बताए ।
आफूले मतदातालाई एजेन्डा सुनाउनुका साथै उनीहरूका समस्या, अपेक्षा र सुझावसमेत सुनेको पाण्डेको भनाइ छ । नेतृत्व भनेको भाषण गर्ने मात्र नभई सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारीसमेत भएको उनले बताए ।
संस्थागत सुधार प्राथमिकतामा
पाण्डेले नाट्टाभित्र देखिएका कमजोरी सुधारसँगै समस्या आउन नदिन पूर्वसावधानी अपनाउने कार्यशैली आवश्यक रहेको बताए ।
‘बिग्रिएपछि सुधार्नेभन्दा बिग्रिन नदिन सचेत हुने सोच आवश्यक छ,’ उनले भने ।
उनका अनुसार नाट्टा केवल निर्वाचनबाट आउने–जाने नेतृत्वको संस्था नभई पर्यटन तथा ट्राभल व्यवसायीको साझा आवाज र व्यावसायिक हितको प्रतिनिधि संस्था हो ।
‘नाट्टा नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्त्वपूर्ण संस्था हो । यसको गरिमा, प्रभाव र ऐतिहासिक महत्त्वलाई अझ उचाइमा पुर्याउनुपर्छ,’ उनले भने ।
निर्वाचन सकिएसँगै प्रतिस्पर्धाको अध्याय समाप्त भएको र अब कामको अध्याय सुरु भएको पाण्डेले बताए ।
‘निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ उनले भने ।
एकता र व्यवसायीका समस्या समाधान चुनौती
नवनिर्वाचित अध्यक्ष पाण्डेका लागि संस्थाभित्रको एकता बलियो बनाउनु, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्नु तथा नाट्टाको संस्थागत क्षमता वृद्धि गर्नु मुख्य चुनौती देखिएको छ ।
निर्वाचनका क्रममा व्यवसायीबाट प्राप्त सुझावलाई निर्णय प्रक्रियाको आधार बनाउँदै नाट्टालाई आगामी पुस्ताले समेत गर्वका साथ सम्झने संस्था बनाउने पाण्डेले प्रतिबद्धता जनाएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्