काठमाडौं । थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयहरूले अध्ययन पूरा गरेको भोलिपल्टदेखि नै उद्योगमा आवश्यक सबै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसक्ने बताएका छन् ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयमा आयोजित संवादमा बोल्दै देवकोटाले विश्वविद्यालयले विद्यार्थीलाई मुख्यतः सैद्धान्तिक आधार बलियो बनाउने बताए ।
उनका अनुसार विश्वविद्यालयबाट निस्कँदा विद्यार्थीले उद्योगमा आवश्यक सबै प्राविधिक तथा व्यावहारिक सीप हासिल गरिसकेको अवस्था हुँदैन । त्यसैले विश्वविद्यालय, उद्योग र सरकारबीच प्रभावकारी सहकार्य आवश्यक छ ।
‘इन्जिनियरिङ भनेको आज पढ्यो, भोलि ठ्याक्कै सबै कुरा काम गर्न सक्ने खालको म्यानपावर जेनेरेट गर्ने कुरा होइन,’ देवकोटाले भने ।
उनका अनुसार विद्यार्थीले विद्यालयदेखि प्लस टु र स्नातक तहसम्म आइपुग्दा भौतिकशास्त्र, गणित, उद्यमशीलतालगायत विषयमा बलियो आधार निर्माण गर्नुपर्ने हुन्छ । विश्वविद्यालय तहमा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगको आवश्यकताअनुसार व्यावहारिक सीपमा रूपान्तरण गर्न थप सहकार्य आवश्यक रहेको उनले बताए ।
अनुसन्धान र विद्यार्थी परियोजनामा न्यून लगानी
देवकोटाले विश्वविद्यालय र उद्योगबीच सहकार्यको सम्भावना भए पनि नीतिगत जटिलताका कारण त्यसलाई व्यवहारमा उतार्न समस्या भइरहेको बताए ।
विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानी निकै न्यून रहेको उल्लेख गर्दै उनले यस्ता परियोजनाबाट विद्यार्थीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्न सक्ने बताए । तर दक्ष जनशक्तिलाई नेपालमै टिकाउने वातावरण बनाउन नसके देशले त्यस्तो जनशक्ति गुमाइरहने उनको भनाइ छ ।
विश्वविद्यालयमा आउने सरकारी बजेटको ठूलो हिस्सा शिक्षक तथा कर्मचारीको तलब र व्यवस्थापनमा खर्च हुने गरेको पनि उनले बताए ।
पाठ्यक्रमदेखि रोजगारीसम्म सहकार्य
देवकोटाले विश्वविद्यालयको शिक्षालाई उद्योगसँग जोड्न सरकार, शैक्षिक संस्था र उद्योग तीनै पक्षको समान भूमिका आवश्यक रहेको बताए ।
विद्यालय तहदेखि नै विद्यार्थीको आधारभूत ज्ञान र सीप विकासलाई व्यवस्थित गर्न सके विश्वविद्यालयमा थप प्राविधिक र व्यवहारिक शिक्षामा केन्द्रित हुन सकिने उनको भनाइ छ ।
उनले विश्वविद्यालय र उद्योगबीचको दूरी घटाउन पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको सम्पूर्ण प्रणालीलाई एकीकृत गर्नुपर्नेमा जोड दिए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्