रुपन्देही । आन्तरिक विवादका कारण आर्थिक वर्ष सुरु भएको एक महिनापछि रुपन्देहीको कोटहीमाई गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट ल्याएको छ।
शनिबार सम्पन्न १९औँ गाउँसभामा गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले नीति तथा कार्यक्रम र उपाध्यक्ष सुशीलाकुमारी यादवले बजेट प्रस्तुत गरिन्। स्थानीय तहले कानुनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र गाउँसभा गर्नुपर्ने भए पनि कोटहीमाईमा आन्तरिक विवादका कारण यसपटक ढिलाइ भएको हो।
‘स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, समृद्ध कोटहीमाईको मूल आधार’ भन्ने नारासहित ल्याइएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, सूचना प्रविधि र सुशासनलाई प्राथमिकता दिइएको छ।
कृषि उत्पादन र उत्पादकत्व बढाउन प्राङ्गारिक मलको प्रयोग तथा विषादीको सुरक्षित प्रयोगबारे जनचेतना फैलाउने नीति गाउँपालिकाले लिएको छ। बाँझो जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रोत्साहन तथा पशुमा लाग्ने खोरेत, भ्यागुते र लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिने भएको छ।
लुम्बिनी विकास कोषसँग सहकार्य गरी सम्भावित पुरातात्त्विक स्थलको उत्खनन तथा संरक्षण गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप स्थानीयस्तरमा उपयोग गर्ने र सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारीको प्रत्याभूति दिलाउने नीति पनि कार्यक्रममा समेटिएको छ।
शिक्षातर्फ शिक्षक तथा कर्मचारीको तलब–भत्ता वृद्धि र चाडपर्व खर्च उपलब्ध गराउने तथा शिक्षक र प्रधानाध्यापकलाई एआई प्रविधिको प्रयोगसम्बन्धी तालिम दिने योजना अघि सारिएको छ। विद्यालयमा जङ्क फुड प्रतिबन्ध गरी स्थानीय उत्पादनमा आधारित साप्ताहिक मेनु लागू गरिने जनाइएको छ।
स्वास्थ्यतर्फ तोकिएका समूहलाई निःशुल्क स्वास्थ्य बीमा, गर्भवती तथा सुत्केरीका लागि पोषण कार्यक्रम र निःशुल्क रगत कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। महिलामा हुने पाठेघरको मुखको क्यान्सर उपचारका लागि विशेष आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।
गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटल हाउजिङ नम्बर प्रणाली र एकीकृत जीआईएस पोर्टल सञ्चालनमा ल्याउने जनाएको छ। गाउँपालिका तथा गाउँसभाका निर्णयलाई डिजिटल अभिलेख व्यवस्थापन प्रणालीमार्फत व्यवस्थित गर्ने र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउने अध्यक्ष त्रिपाठीले बताए।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ८८ करोड ५६ लाख ६४ हजार ९३ रुपैयाँको कुल आय–व्यय अनुमान प्रस्तुत गरेको छ। कृषि, पशु, सहकारी, पर्यटन तथा आर्थिक विकासतर्फ ३ करोड ५९ लाख ३५ हजार, स्वास्थ्य, शिक्षा, महिला, बालबालिका तथा सामाजिक विकासतर्फ १३ करोड १६ लाख २५ हजार ४० रुपैयाँ र सडक, नाला तथा अन्य पूर्वाधारतर्फ १३ करोड १६ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १५ लाख ४५ हजार तथा कार्य सञ्चालन, संस्थागत विकास र सुशासनतर्फ १३ करोड ३ लाख ३८ हजार रुपैयाँ छुट्याइएको छ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बजेट ढिलो आए पनि अब कार्ययोजना बनाएर प्रभावकारी कार्यान्वयनमा जुट्न सुझाव दिएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्