काठमाडौं । नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।
निगमले द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा जानकारीका आधारमा बजार अनुगमन गर्दा व्यावसायिक प्रतिष्ठानहरूले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखेको पाइएको जनाएको छ ।
निगमले अनावश्यक रूपमा मौज्दात राखिएका ग्यास सिलिन्डर तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री–वितरण गर्न आग्रह गरेको छ ।
निगमका अनुसार असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामका भरिएका सिलिन्डर बिक्री–वितरण भइरहेका छन् । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री–वितरण भइरहेको भए पनि सर्वसाधारणले सहज रूपमा ग्यास नपाएको गुनासो आइरहेको निगमले जनाएको छ ।
बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न व्यावसायिक प्रतिष्ठानले अनावश्यक रूपमा सिलिन्डर थुपारेर नराख्न निगमले आग्रह गरेको छ ।
निगमले सूचनाविपरीत कुनै पनि स्थानमा ग्यास सिलिन्डर मौज्दात राखेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्