काठमाडौं । ग्यास विक्रेता महासंघले लामो समयदेखि देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल आयल निगम, वाणिज्य मन्त्रालयसहित सरकारी निकायहरू समस्या समाधान गर्नुको साटो ‘अनावश्यक प्रचारबाजी’मा लागेको दाबी गरेको छ ।
महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात भएको छ । आयातमा आएको गिरावटकै कारण बजारमा ग्यास अभाव भएको महासंघको भनाइ छ ।
अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा हाल बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख ग्यास सिलिन्डर रहेको उल्लेख छ । ठूलो संख्यामा सिलिन्डर बजारमा हुँदाहुँदै नयाँ सिलिन्डर बिक्री नरोकिए आगामी वर्ष समस्या थप जटिल बन्ने महासंघले चेतावनी दिएको छ ।
ग्यास उद्योग तथा विभिन्न बिक्री केन्द्रले वितरण च्यानल अर्थात् डिलरमार्फत बिक्री नगरी आफैँ ग्यास बिक्री गर्दा अभाव थप बढेको महासंघको आरोप छ । उद्योग र बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री तत्काल रोक्दै डिलरमार्फत मात्र ग्यास बिक्री वितरण सहज बनाउनुपर्ने महासंघको माग छ ।
अनुगमनका नाममा ग्यास बिक्रेतालाई अनावश्यक दुःख दिने काम भइरहेको भन्दै महासंघले यस्तो कार्य तत्काल रोक्न पनि माग गरेको छ ।
महासंघले ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट हुने प्रत्यक्ष बिक्री बन्द गर्नुपर्ने, डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्नुपर्ने तथा अनुगमनका नाममा बिक्रेतालाई दुःख दिने कार्य रोक्नुपर्ने माग अघि सारेको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्